एसपी रिपोर्टर
काठमाण्डौं, साउन २२ : चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रबार सार्वजनिक गरेको नतिजामा आशिकले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन् । उत्कृष्ट भएपछि चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।
एमबीबीएस प्रवेश परीक्षाका लागि देशभरिबाट ११ हजार सहभागी विद्यार्थीलाई उन्छिदै आशिकले उत्कृष्ट हुन सफल भएका हुन् । सर्वोत्कृष्ट भएपछि आशिकले भने ‘सर्वोत्कृष्ट हुनको लागि भन्दा पनि राम्रो अंक लिएर पास गर्ने सोँचले धेरै मेहेनत गरेको थिएँ । अब थप मेहेनत गर्ने ऊर्जा मिलेको छ ।’
विज्ञान विषय लिएर कक्षा ११ र १२ लिएर त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय पढेका आशिकले २०७७ ब्याचका कक्षा १२ मा समेत उत्कृष्ट अंक लिएर उत्तीर्ण भएका थिए । सामान्य परिवारका आशिकले जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित एसईई उत्तीर्ण गरेका थिए ।
विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले आशिकको सफलताले सामुदायिक विद्यालयप्रतिको धारणा सकारात्मक परिवर्तन गराउन पनि सहयोग पुग्ने बताए । उनले भने ‘आशिक अत्यन्तै सिर्जनशील र मेहनती विद्यार्थी हुन् । उनको सफलताले सामुदायिक विद्यालयप्रतिको धारणा सकारात्मक परिवर्तन गर्न, महत्वपूर्ण भूमिका खेल्नेछ ।’ सर्वोत्कृष्ट बनेपछि विद्यालयले उनलाई सम्मान गरेको छ ।
आयोगले पहिलो पटक एमबीबीएसका लागि एकीकृत परीक्षा लिएको हो । यसअघि विश्वविद्यालय फरक–फरक परीक्षा लिँदै आएको थियो । आयोगले साउन ९ देखि १३ गतेसम्म उपत्यकामा २८, धरानमा ६, चितवनमा ६, पोखरा र नेपालगञ्जमा दुई दुई स्थानमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेको थियो ।
मधेशको एकै दलित परिवारका दुई सन्तान पनि उतिर्ण

तराईको दलित परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन् ।
महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका छोरा र छोरीले नाम निकाल्न सफल भएका छन् । जीतेन्द्रका छोरा अभयकुमार र छोरी कृतिकाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् । दाइ अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको भएपनि बहिनी कृतिकाले त पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी छन्।
अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन् भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन् । दुवै दाजुबहिनीले महोत्तरीको मनरा सिसवा गाउँपालिकाको सरकारी स्कूल सहस्राम माविबाट एसईई उत्तीर्ण गरेका हुन् ।
अभयले २०७२ सालमा एसईई ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए भने बहिनी कृतिकाले २०७४ सालमा सोही विद्यालयबाट ‘ए’ ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेकी थिइन् । अभयले त्यसपछि काठमाडौंको गोल्डेन गेट कलेजबाट टेन प्लस टु २०७५ सालमा उत्तीर्ण गरेका थिए । उनले प्लस टुमा ‘बी’ ग्रेड ल्याएका थिए। त्यसैगरी कृतिका पनि २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेड ल्याएर प्लस टू उत्तीर्ण गरेकी थिइन् ।
अभयले पहिलोपटक जाँच दिँदा पनि दलित कोटामा नाम निस्किएको थियो तर त्यति बेला बिन समुदायलाई पनि दलित कोटामा राखिएको हुनाले उनको नाम पर्न नसकेको अभयका बुवा जीतेन्द्र पासवान बताउँछन् । तर अहिले बिन जातिलाई दलित समुदायबाट हटाइएको उनले बताए। ‘अहिले जसरी बिन जातिलाई दलित समुदायको कोटाबाट हटाइएको छ त्यस आधारमा गत वर्ष नै मेरो छोरा अभयले एमबीबीएस पढ्न पाउँथ्यो,’ जीतेन्द्रले भने, ‘खैर, एक वर्ष थप मेहनत गरेर यो पटक ब्याजसहित छोराको साथमा छोरीले पनि नाम निकालेर हाम्रो सपना साकार पारेका छन् ।’