एसपी रिपोर्टर
जनकपुरधाम, चैत ७ : कोरोना भाइरसको त्राससँगै मास्क र स्यानिटाइजरको अभाव भएपछि जनकपुरधाममा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न निकायका प्रतिनिधिसहितको टोलीले शुक्रबार जनकपुरधामका ६ वटा मेडिकल तथा सर्जिकल पसलमा अनुमगन गरेको हो । अनुगमनका क्रममा कुनै पनि पसलमा मास्क र स्यानिटाइजर फेला नपरेको अनुगमन टोलीले जनाएको छ । यद्यपि, भ्रमरपुरा चौकस्थित अटल फार्मेसीले ५ सय पिस स्यानिटाइजर खरिद गरेको कागजपत्र रहे पनि सामान फेला नगरेको जिल्ला प्रशासन कार्यालयका अधिकृत गणेश मिश्रले जानकारी दिनुभयो ।

पसलका मालिक प्रभंस चौधरीसँग फोनमा कुरा गर्दा आफूले सप्लायर्सबाट स्यानिटाइजर खरिद नै नगरेको दाबी गरेका थिए । तर, खरिद गरेको भ्याट बिल फेला परेपछि पसलमा रहेका अनिल यादवलाई पक्राउ गरिएको छ । पसल सञ्चालकमाथि कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने अधिकृत मिश्रले जानकारी दिनुभएको छ । साथै, उहाँले कुनै व्यापारीले लोबजारी गरेको वा सामान राखेर पनि नदिएको पाइए प्रहरी प्रशासनमा तत्काल खबर गर्न अपिल गर्नुभएको छ । अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जनकपुरधाम उद्योग वाणिज्य संघसहितका प्रतिनिधिहरूको सहभागिता थियो ।
भिडियो समाचार