एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ : प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रत्येक वडामा बर्थिङ्ग सेन्टरको अवधारणाका साथ प्रदेश सरकार काम गरिरहेको बताएका छन् । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल प्रदेश २ ले जनकपुरधाममा आयोजना गरेको स्थानिय स्तरमा सुरक्षित मातृत्व तथा प्रजन्न स्वास्थ्य अधिकार ऐनको आवयश्कता सम्बन्धमा जिल्ला स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘सुरक्षित मातृत्व तथा प्रजन्न स्वास्थ्यका लागि सरकारका साथ साथै घर परिवार पनि होसियार र सचेत हुन आवयश्क छ ।’

शिक्षित परिवारमा पनि छोरा र छोरी प्रतिको विभेद जारी रहेको उनले बताए । शिक्षित परिवारमा अहिले पनि छोरालाई २५ पारि र छोरीलाई १८ पार गर्ने वितिकै विवाहको कुराकानी गर्न थालिने उनको तर्क थियो । संघियता संस्थागत हुन नसकेकाले धेरै कामहरु गर्न वाँकी रहेको यद्यपि प्रदेश सरकार महिलाको हक अधिकार वाहेक सुरक्षित मातृत्व, प्रजन्न स्वास्थ्य सहितका स्वास्थ्य क्षेत्रमा पनि निति बनाएर अगाडि बढिरहेको बताए ।

कार्यक्रममा प्रस्तुत प्रतिवेदनका अनुसार प्रदेश २ मा परिपक्व मातृत्वबाट प्रत्येक वर्ष प्रति महिला २.७ प्रतिशतका दरले नयाँ शिशुको जन्म हुने गरेको छ । महासंघ प्रदेश २ का अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय कोषाध्यक्ष सुशिल श्रेष्ठ, सदस्य जयविर साह, धनुषाका विभिन्न स्थानिय तहका प्रमुख र उपप्रमुखहरु सहित महासंघ प्रदेश २ की कार्यक्रम संयोजक लक्ष्मी साहको उपस्थिती रहेको थियो ।





