एसपी रिपोर्टर
जनकपुरधाम, चैत ५ : नेपाल पत्रकार महासंघ धनुषाको दोस्रो तल्लामा नव निर्मित सभाहल ‘शास्त्री सभाकक्ष’ को समुदघाटन गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आर्चायले सभाहलको समुदघाटन गर्दै वर्तमान धनुषा कार्यसमितिको प्रशंसा गरेका छन् ।
देशको ७७ जिल्ला मध्ये ६४ जिल्लाले आफनै सभाहल पाइसकेको बताउदै अध्यक्ष आर्चायले धनुषा महासंघको सभाहल पृथक रहेको बताए । धनुषा महासंघको आतिथ्यता, स्वागत सत्कारले मिथिलामा पाहुना प्रतिको आदर र सम्मान सार्थक बनाएको उनको तर्क थियो । उनले ६० वर्ष उमेर पुगेका अग्रज पत्रकारहरुको सेवा सुविधाका लागि कार्यनिति तयार भइरहेको समेत बताए ।

समाजसेवी तथा प्रखर वक्ता एवं पत्रकार महासंघ धनुषाका संस्थापक स्व. सुन्दर झा शास्त्रीको नाममा सभा हलको नामांकरण ‘शास्त्री सभाकक्ष’ राखिएको हो । प्रतिनिधीसभा सांसद राजेन्द्र महतोको दश लाख, प्रदेश सांसद परमेश्वर साहको ५ लाख र जनकपुरधाम उपमहानगरपालिकाको ४ लाख सहितको सहयोगमा सभाहलको निर्माण कार्य सु–सम्पन्न भएको छ ।
सभाहलमा साउन्ड, डिलक्स वाथरुम, एसी समेत जडान भएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार बिएम खनाल, महासंघ प्रदेश कोषाध्यक्ष प्रविण साह, सल्लाहकार विरेन्द्र रमण, प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष राजेश कर्ण, प्रेस सेन्टर धनुषाका अध्यक्ष शैलेन्द्र महतो क्रान्ति, चौतारीका अध्यक्ष अवधेश कामत, समाजका अध्यक्ष शुभाष कर्ण, दलित पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष कैलाश दास सहितकाले शुभकामना मन्तब्य राखेका थिए ।





