एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २६ :
महोत्तरीबाट बेपत्ता भएका झा दम्पतीको अवस्था तुरन्त सार्वजनिक गर्नुपर्ने माग गर्दै अव जनकपुरधाममा पनि आन्दोलन थालनी भएको छ । आजदेखि जनकपुरधामको जनकचोकमा अनिश्चितकालीन रिले अनसन सुरु गरिएको हो ।

रिले अनसनमा सहभागीहरुले महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ स्थित सहोडवाबाट फागुन १० गते राती घरबाटै बेपत्ता भएका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीया गीतादेबी झाको अवस्था तुरन्त सार्वजनिक गर्नुपर्ने मांग गरिरहेका छन् । १६ दिन वितिसके पनि झा दम्पत्तीको अवस्था अझै अज्ञात हुनुले प्रहरी प्रशासनको लाचारी प्रष्ट भएको उनीहरुको तर्क छ ।

रिले अन्सनमा दीपक कुमार झा, जिउँदो सहीद दिनेश पूर्वे, शिक्षक अगुवा अरविन्द यादव, प्रजातान्त्रिक आन्दोलनका जिउँदो सहिद ललन चौधरी, साझा विवेकशील पार्टीका केन्द्रिय नेता मुरली मनोहर मिश्र, नेपाली जनता पार्टीका केन्द्रिय नेता धीरेन्द्र झा मैथिल र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष दीपेन्द्र साह, पूर्व प्रमुख जिल्ला अधिकारी जीवछ मिश्र लगायतकाहरूले एक्यबद्धता जनाएका छन् ।

बेपत्ता दम्पतीका छिमेकी रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरि अनुसन्धान थालिएको महोतरी प्रहरीले जनाएको छ ।