एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २२ : वर्षो देखि जर्जर अवस्थामा रहेको शताब्दियो पुरानो जनकपुरधामको एउटा मन्दिरलाई जिर्णोद्धार गर्ने कार्यको श्री गणेश गरिएको छ । आज एक समारोहका बीच प्रदेश सांसद परमेश्वर साहले सो मन्दिर जिर्णोदार कार्यक्रमको शिलान्यास गरेका छन् ।
सीताराम बड़ई (बरै) कुट्टी मन्दिरको जिर्णेद्धार कार्य ‘नागवंशी चौरसिया समाज’ नामक संस्थाको स्वामित्वमा हुने भएको छ । आज योजनाको शिलान्यास गर्दै प्रदेश सांसद साहले धार्मिक सम्पदाको रक्षा र विकासका लागि प्रदेश सरकार प्रतिवद्व रहेको बताए । जनकपुरधाम वडा नं. ७ जीरो माइल तपसी चौक नजिकै रहेको सो एतिहासिक पौराणिक स्वजातिय मन्दिरको जिर्णोद्धारकालागि प्रदेश सरकारले सहयोग गरेको हो ।

प्रदेश सांसद साह जर्जर अवस्थामा रहेको ति मन्दिरलाई जिर्णोद्धार गर्न सुरु भएको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । जनकपुरधामको पहिचान यहाँको मठ मन्दिर ताल सरोवरले रहेकाले सवैको संरक्षण जनकपुरधामवासीको रहेको उनको भनाई छ । धार्मिक मिथिला सभ्यताको केन्द्र जनकपुरधामको धार्मिक पौराणिक गरिमालाई अक्षुण राख्न नागवंशी चौरसीया समाजले थालेको पहलको प्रदेश संसद साहले प्रशंसा गरेका छन् ।

सार्वजानिक महत्वका मठ मन्दिर, पाटी–पौवा, ताल सरोवरलाई संरक्षण प्रवद्र्धन र सम्बद्र्धन गर्ने दिशामा केही कानुनी जटिलता रहेतापनि प्रदेश सरकार लागेको उनको तर्क छ । पहिचानमुखी इतिहासिक धरोहरहरुलाई हामि सबैले मीलेर संरक्षण र विकास गरे मात्र जनकपुरधामको सही रुपमा विकास हुन्छ उनले भने । यस्ता सहयोग अगामि आर्थिक वर्षहरुमा समेत गर्ने प्रतिवद्वता उनले जाहेर गरेका छन् ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता मिश्र, वडा नं. ७ का अध्यक्ष जानकी राम साह सहितको सहभागिता रहेको थियो ।





