एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ :
धनुषा लादोवेला दलित बस्तीका छट्टु सादाको सोमवार खुसीको कुैनै सिमा थिएन । कारण थियो उनले प्रदेश सरकारबाट पाइ रहेको दुईवटा कोठाको पक्की घर । परालको छाना मुनी जिवन यापन गर्दै आएका दलित बस्तीमा पक्की कोठाको घर बन्नु वास्तिवक खुसीको कुरो नै हो ।

प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री तथा जनता आवास कार्यक्रम धनुषाका संयोजक प्रदेश सांसद परमेश्वर साहले दलित बस्तीका गरिव विपन्न परिवारलाई घर हस्तान्तरण गरिरहँदा उनीहरुको मुहारको हाँसो थियो ।

घर निर्माणमा एक नम्बर इँटा, सिमेन्ट, गुणस्तरीय बालुवा, गिट्टी प्रयोग गर्नुका साथै छानामा फलामको पाइप राख्ने काम भएकाले घर टिकाउ रहेको बताउँदै अर्की लाभग्राही महिला संगिता देवी सदाले अव सुखसँग पक्की घरमा बस्ने रहर पुरा भएको बताइन् । उनले भनिन, ‘ घर भयो अब छोरा छोरीको शिक्षामा विशेष ध्यान दिने छु ।’ जनता आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर पाएकोमा दलितहरू दङ्ग परेका छन् । आफूहरूको वर्षौँ देखिको पक्की घरमा बस्ने चाहना पुरा भएकोमा अत्यन्तै खुसी भएको लादोवेलाका छट्टु सदाले बताए ।

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठाको पक्की घर निर्माण गरेर आज हस्तान्तरण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत नेपाल सरकारको आर्थिक लगानीमा प्रदेश नंं २ का सरकारले निर्माण गरेका घरहरू प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले हस्तान्तरण गरेका हुन ।

वर्षौँ देखि वर्षा तथा हावा हुरीमा निक्कै समस्यामा परेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं २३ लादोवेला, विन्धीका तथा बसहीयाका अति दलित समुदायमा पर्ने मुसहर जातिलाई घर हस्तान्तरण गरिएको छ । घर पाएर निक्कै खुसी भएका लादो बेलाका मुसहर समुदायले एक अर्कालाई अबिर दलेर खुशीयाली साटासाट गरेका छन् ।

लादोका ४३ मुसहर, विन्धिका ३६ परिवार तथा बसहीयाका ४५ परिवारलाई दुई कोठाको पक्की घर हस्तान्तरण गरिएको छ । सङ्घीय सरकारको कार्ययोजनामा परिमार्जन गरेर प्रदेश नंं २ का सरकारले छानामा भएको बाँसको ठाउँमा फलामको पाइन, एक नम्बर इँटा तथा भुईँमा माटोको साटो इँटाको सोलिङ्ग गर्ने काम गरेको प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास मन्त्री सोनलले जानकारी दिए ।

प्रदेश नंं २ का डोम, हलखोर, मुसहर तथा मेस्तरका ४ हजार घर निर्माण गरेर हस्तान्तरण गरेको उनले बताए । यस कार्यक्रममा तीव्रता दिनका लागि समयमा बजेट निकासाका लागि पनि माग गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ र ०७६÷७७ गरेर दुई आर्थिक वर्षमा धनुषा जिल्लामा ७ सय २४ जनासँग सम्झौता भएकोमा अहिलेसम्म जिल्लामा २ सय ८१ वटा घरको निर्माण भएको र ४ सयको निर्माण जारी रहेको जनता आवास कार्यक्रम धनुषाका संयोजक एवं प्रदेश सभाका सदस्य परमेश्वर साहले जानकारी दिए । उनले भने, ‘सबै घरको निर्माण असार मसान्त भित्रमा सम्पन्न हुने छ ।’

यद्यपि धनुषाको बसहीयामा निर्माणको क्रममा ३४ वटा घर सम्बन्धमा अदालतमा मुद्दा परेकाले तत्काल काम रोकिएको जानकारी जनता आवास कार्यक्रमका डिभिजनल इन्जिनियर विनोद यादवले गराए । जनता आवास कार्यक्रम अन्तर्गतको घर निर्माण भएर हस्तान्तरण गर्ने काम भएकोमा यस कार्यको वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीले सराहना गरेका छन् ।

उनी मात्र होइन नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य शिवचन्द्र चौधरीले पनि प्रशंसा गर्दै घर निर्माणमा तीव्रता आएकोमा खुसी व्यक्त गरे । दलित महिला अधिकारकर्मी एवं प्रदेश सभाका सदस्य चमेली देवी दासले घर विहीन दलितको घर निर्माण गर्ने काम भएकोमा सरकारलाई धन्यवाद दिइन ।