एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
धनुषा विदेह नगरपालिका वडा नं. ४ ठारहीका वडा अध्यक्षले प्रहरीकै सामुने स्थानियलाई कुटपिट गरेको आरोप लगाइएको छ । गत फागुन ९ गते वडा अध्यक्ष विनोद गोहिमानले स्थानिय सुरुवा पासवानलाई प्रहरीकै अगाडि कुटपिट गरेको आरोप लागेको छ ।

पिडितहरु स्थानिय भद्रभलादमीलाई राखेर जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्ष गोहिमान स्थानिय प्रहरी चौकीका असई राम प्रमोद यादव र हवल्दार सन्तोष पाण्डेकै अगाडि आफुलाई वडा कार्यालयमै कुटपिट गर्दा पनि प्रहरी मुखदर्शक बनेको आरोप लगाएका छन् ।

स्थानिय एक २० फिटको सडकलाई मात्र १० फिटको साँगुरो बनाएर सार्वजानिक भवन बनाउन लाग्दा आफुले बोलेको भरमै कुटपिट गरेको पिडितका भाई गणेश कुमार पासवानले बताए । वडा अध्यक्ष गोहिमानको हाली मुहाली रहेकाले कसैले पनि बोल्न नसकेको र नापीमा २० फिट रहेको बाटोलाई आफनो खुसी मास्न खोज्दा आफुले बोलेको उनको तर्क छ । पत्रकार सम्मेलनमा स्थानिय सुकदेव पासवान, प्रमोद कुमार छितन सहितको उपस्थिती थियो ।