एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २ :
जिल्ला र प्रदेश विचको विवादका कारण तिनै तहको संरचनामा गइसकेको नेपाल पत्रकार महासंघमा केन्द्रिय महासंघ नै निर्णायक बन्न थालेको छ । जिल्लाले प्रदेशलाई पुर्ण रुपमा स्वीकार गर्न नसकेको र प्रदेशले जिल्लालाई गन्न छाडेपछि महासंघको स्र्वोच्च अदालत केन्द्रिय महासंघ नै बन्न थालेको छ ।

तिन तहको संरचना पश्चात महासंघ व्यवस्थित हुने आशा र विश्वास लिइएको भएपनि विवादको चांङ्ग छ । शनिवार पर्साको बिरगंजमा आयोजित महासंघ प्रदेश २ को साधारणसभामा आठवटै जिल्लाका अध्यक्ष तथा शाखाको अपनत्व महशुस भएको देखिएन । सम्पुर्ण पत्रकारहरुको छाता संगठन मानिने महासंघमा चुनावको पुर्व सन्धयामा दलिय राजनिति हावी हुन थालेपछि विवाद हुने गरेको छ ।

महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा आठवटै जिल्लाका अध्यक्ष न त आसन ग्रहण गर्न माने न त सम्मान ग्रहण गर्न नै मानेनन । कारण थियो सदस्यता वितरण तथा नविकरण । जिल्लाको सिफारिस लत्याएर प्रदेशले आफनो खुसी दल विशेषको आधारमा सदस्यता सम्बन्धि निर्णय लिएको शाखा अध्यक्षहरुको तर्क छ भने जिल्लाले प्रदेशलाई माथिल्लो निकायको रुपमा स्वीकार नै गर्न नसकेको प्रदेशको आरोप छ ।

विवादका कारण सदस्यता वितरण तथा नविकरणको जिल्ला पुनः केन्द्रिय महासंघले नै पाएको छ । प्रदेश महासंघका सचिव तथा प्रचार विभाग प्रमुख आरएन विश्वासले जनाए अनुसार प्रादेशिक समितिको साधारण सभा र निर्णयहरु यस्ता छन ः
१. नयाँ सदस्यता र नविकरणको सन्दर्भमा जिल्ला समितिहरुबाट प्रदेश समितिमा पठाएका नामावली स्विकृत गर्ने
२. नयाँ सदस्यता र नविकरणमा प्रदेश समितिले गरेको पुनरावलोकनको हकमा थप छानविन गर्न केन्द्रीय समितिको संगठन विभागमा अन्तिम किनाराका लागि कागजात सहित पठाउने निर्णय साधारण सभाले गर्याे ।
३. यस्तै महासचिव किरण कर्ण र कोषाध्यक्ष प्रविण साहको प्रतिवेदन पारित

माथिल्लो तिनवटै निर्णयले जिल्ला र प्रदेश समिति असफल भएको दर्शाउछ । जिल्लाको पत्रकारलाई बुझने जिल्ला शाखा र अनुगमण गर्ने निकाय प्रदेश समिति फेल हुँदा काठमाण्डौं पुनः निर्णायक बनेको छ । साधारणसभामा विशिष्ठ अतिथि महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा महासचिव रमेश बिष्ट, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, युनियन अध्यक्ष बद्री सिग्देल, महासंघका केन्द्रीय सदस्य एवं मधेस उपसमितिका संयोजक अवधेशकुमार झा, केन्द्रीय सदस्यद्वय शैलेन्द्र झा र देवकुमार यादव, प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेख, विरगञ्ज मेयर विजय सरावगी, प्रेस नेपालका विजय कुशावाहा, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठ, प्रदेश अन्तर्गतका ८ जिल्लाका महासंघका अध्यक्ष र सचिवको सहभागिता थियो ।

साथै साधारणसभावाट २५ हजार राशीको प्रदेश पत्रकारिता पुरस्कार धर्मेन्द्र झा(गतवर्षको) र यसवर्षको पुरस्कार शत्रुधन नेपाललाई प्रदान गरिएको छ भने आठवटै जिल्लालाई सम्मान गर्ने क्रममा प्रेस स्वतन्त्रता सेनानी एवं महासंघ सप्तरी शाखाका पुर्व अध्यक्ष वैधनाथ झा, सिरहाका पुर्व अध्यक्ष चन्द्रदेव कामती, धनुषाका अजय झा सहित आठै जिल्लाका वरिष्ठ पत्रकारहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्रेस मञ्चको आपती

तस्वीरमा मञ्चका केन्द्रिय उपाध्यक्ष गुरु

एता साधारणसभामा आफुहरुलाई सहभागिता नगराएको भन्दै तत्कालिन राजपाको शुभेच्छुक प्रेस मञ्च नेपालले साधारणसभाको विरोध गरेको छ । मञ्चका केन्द्रिय उपाध्यक्ष किशोर गुरुले एक विज्ञप्ती जारी गर्दै साधारणसभालाई कोठे साधारणसभाको संज्ञा दिएका छन् । गत पहिलो प्रदेश समितिको महासंघको निर्वाचनमा मञ्च निकटतम प्रतिद्वन्द्वी रहेको तर्फ ध्यानाकर्षण गराउदै उपाध्यक्ष गुरुले भने, ‘झिनो मतान्तरले नेतृत्ववाट चुकेको मञ्चलाई पाखा लगाउने काम भएको छ हामि मान्दैनौ ।’

उम्मेदवार व्यक्ति नभई संगठन रहेको बताउदै उनले सवै संगठनलाई सहभागि गराइएपनि मञ्चलाई जानकारी नगराउनु खेद जनक रहेको बताएका छन् । मञ्चलाई हल्का नलिन चेतावनी दिदै उनले एकात्मक तानाशाही ढंगले सिन्डिकेट लगाएर सम्पन्न भएको साधारणसभा अत्यन्तै आपत्तिजनक र खेदपुर्ण रहेको उल्लेख गरेका छन् ।

महासंघको केन्द्रिय साधारणसभा तथा अधिवेशन आगमि फागुन ४ र ५ गते काठमाण्डौंमा हुदै छ । भने तिनै तहको नयाँ नेतृत्व चयनका लागि चैतको पहिलो साता सम्ममा एकै दिन निर्वाचनको तयारी भइरहेको छ ।