एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ : जनता समाजवादी पार्टी समर्थित राष्ट्रिय इन्जिनियर संघको भेला जनकपुरधाममा हुने भएको छ । सो राष्ट्रिय भेलामा प्रदेश २ का ८ जिल्लाका अतिरिक्त देशका विभिन्न स्थानका इन्जिनियरहरुको सहभागिता रहने छ ।
जसपाको शुभेच्छुक संगठन रहेको संघको भेलाको उदघाटन जनकपुरधाम स्थित मारवाडी सेवा समितिको सभा हलमा गरिने जानकारी राष्ट्रिय इन्जिनियर संघका केन्द्रिय अध्यक्ष भगवान झाले दिएका छन । संघले यस सम्बन्धमा आज पत्रकार सम्मेलनको आयोजना गरि विभिन्न जानकारी गराएको छ । भेलाको अन्तिम तैयारी भइरहेको उहाँले जानकारी दिएका छन ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले समुदघाटन गर्ने सो समारोहमा जसपा नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भोतिक योजना तथा निमार्ण मन्त्री जितेन्द्र सोनल सहितका नेताको सहभागिता रहने छ । प्रमुख अतिथि ठाकुरलाई शुक्रवार विशेष स्वागत गरिने छ । जनकपुरधाम विमानस्थलबाट मोटरसाइकल रैली सहित स्वागत गरिने कार्यक्रम राखिएको संघका उपाध्यक्ष सुशिलकुमार झाले दिएका छन ।

मोटरसाइकल रैली सहित नगरपरिक्रमा समेत गरिने कार्यक्रम राखिएको छ । सो कार्यक्रमका लागि नगरको विभिन्न स्थानका स्वागतद्वारहरु बनाइएको संघका महासचिव दीपेन्द्र साहले दिएका छन । समारोहमा पूर्व इन्जिनियरहरुलाई सम्मान गरिने कार्यक्रम राखिएको छ । शुक्रवार ठाकुरको स्वागतमा मोटरसाइकल रयाली र शनिवार मारवाडी सेवा समितिमा भब्य कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।





