सविना मानन्धर,
दोलखा, मसिंर ९ : दोलखाको प्रसिद्व चर्चित भीमेश्वर मन्दिरमा आज पुन पसिना आउन थालेपछि देशै भरि चर्चा हुन थालेको छ । आज दिउँसो १ः४३ देखि ३ः५४ सम्म पटक पटक मन्दिरको शिलामा पसिना आएपछि देश भरिमै चर्चाको विषय बनेको छ । भीमेश्वर मन्दिरमा पसिना आए देशमा संकट उत्पन्न हुन सक्ने मान्यता रहेको छ ।
वि.सं.१९९० देखि अहिले सम्म मन्दिरको शिलामा १८ औं पटक पसिना आएको र पसिना आउनु देशमा संकट आउने संकेतको रुपमा लिने गरिएको गुठीयार भरत श्रेष्ठले बताए । भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विराजमान श्रेष्ठका अनुसार मन्दिरको शिलामा पसिना आउनु देशमै संकट उत्पन्न हुने संकेतको रुपमा विभिन्न घटनाहरुलाई उदाहरण मान्दै पुर्वजहरुले व्याख्या गर्दै आएका छन् ।

यसरी पसिना आउँदा दिक्षा कर्म प्राप्त भएका पुजारीवाट मात्र पसिना पुछने चलन छ । पसिना आएको थाहा भएपछि जिल्ला प्रशासन कार्यालयवाट सहायक प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको टोली दोलखा पुगेर भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिसंग छलफल गरि पसिना पुछिएको रुवा र प्रसाद सहित बुधवार गृह मन्त्रालय मार्फत राष्ट्रपती कार्यालय पठाइने निर्णय गरिएको छ ।
राष्ट्रपती कार्यालयमा प्रसाद पुरयाउन स्थानिय जनप्रतिनिधी, मन्दिर पुजा व्यवस्थापन समितीका प्रतिनिधी सहित काठमाण्डौं जाने तयारी समेत भइरहेको समिति अध्यक्ष भरत श्रेष्ठले बताए । राष्ट्रपती समक्ष प्रसाद र पसिना आएको खवर पुरयाइ सकिएपछि त्यहाँवाट क्षमा पुजा पठाउने चलन रहिआएको श्रेष्ठले बताए ।
पसिना आउनु देशमा संकट आउने भविष्यवाणीको बलियो सुचक

भीमसेनको शिलामा पसिना आउनुको आफनै मौलिक विशेषता र मान्यता छ । देश भित्र वा देश वाहिर कुनै दुर्घटना, अनिष्ट, बिघनबाधा वा संकट पुर्व पसिना आउने गरेको बुढापाका र स्थानियको भनाई छ । दोलखामा हाल सम्म उपलब्ध पुराना ताम्रपत्र, भोजपत्र, ताडपत्र सहितकामा शिलामा आउने पसिना बारे कुनै ठोस तथ्य उल्लेख नरहेपनि मन्दिरको देवे्रपट्टी स्थित गदा एक अंगुल उठेको भनि वि.सं. १८३२ मा उल्लेख गरिएको छ ।

वि.सं. १९९० सालको भुकम्प आउनु पुर्व, १९९७ मा चार शहिदहरुलाई मृत्यु दण्ड दिइएको, २००७ सालमा प्रजातान्त्रिक आन्दोलन, २०११ सालमा राष्ट्रपिता त्रिभुवनको स्वर्गारोहन, २०२८ सालमा श्री ५ महेन्द्रको स्वर्गारोहन, २०४५ सालमा भुकम्प, २०४६ सालको जनआन्दोलन र राजा बिरेन्द्रको बंश बिनाश हुनु पुर्व २०५७ सालको माघ महिनामा मन्दिरको शिलामा पसिना आएको स्थानिय बयोवृद्वहरु बताउछन् ।

त्यसै गरि २०६४ र २०७० मा आएको पसिनालाई २०७२ मा आएको महा विनाशकारी भुकम्प तथा २०७४ र २०७६ मा आएको पसिनालाई विश्व व्यापी महामारी कोरोना भाइरससंग जोडिएको छ । आज पुनः पसिना आउँदा विभिन्न चर्चा परिचर्चा हुन थालेको छ । भीमसेनको दायाँ पट्टी पसिना आँउदा राजपरिवार र बायाँ पट्टी आउँदा जनतामा संकट वा अनिष्ट हुने धार्मिक मान्यता छ । यसरी भीमेश्वरको शिलामा आउँदा वरिपरिका द्रौपदी, कुन्ती, गदा र प्रवेशद्वार माथीको तोरण क्षेत्रपाल (क्षापर)मा समेत पसिना आउने जनविश्वास छ ।





