पुरन रौनियार
जनकपुरधाम, मसिंर ४ :
मिथिलाञ्चलमा समाचकेवा पर्व पनि सुरु भएको छ । आज छठ पर्वको खरना विधिको दिनबाट सुरु हुने समाचकेवा पर्व कात्तिक पूर्णिमाका दिन सम्म मनाइनेछ । तर, पछिल्लो समय शहरी क्षेत्रहरूमा सामा चकेवा लोप हुदै गएको छ । केहो सामा र चकेवा ? हामीले विज्ञहरुको आधारमा तल उल्लेख गर्ने प्रयास गरेका छौं ।

शहरी क्षेत्रमा लोप हुदै गएको भाइ र वहिनीको पर्व सामा चकेवा ग्रामिण भेगहरूमा जेनतेन खेल्ने गरिएको छ । भाइको उमेर लामो होस र उसलाई कुनै रोग व्याधा नलागोस भन्ने विश्वासका साथ यो पर्व मनाइन्छ । स्कन्धपुराणका अनुसार समाका बुवा कृष्ण थिए र पतिको नाउ चारुबक्र थियो । सामाको सम्बन्ध कुनै मुनिसँग छ भनेर एक व्यक्तिले बुवा कृष्णलाई चुग्ली लगाई दिएका थिए । कृष्ण त्रूmद्ध भएर छोरीलाई श्रापद्धारा चरा बनाइ दिए । चारुबक्र पनि पत्निसंगै रहन चराकै रुपमा आउन बरदान मागेपछि समाका भाई चकेवाले घोर तपस्या गरेर आप्mनी बहिनी र भिनाजुलाई मानिसको रुपमा फर्काउन सफल भएका थिए । यो पर्वमा बहिनीहरूले सामा, चकेवा, चुगला (झगडा लगाउने पात्र) आदीको माटोको विभिन्न प्रतिमा बनाई बाँसको डालामा राखेर साँझको समय एक ठाउँमा जम्मा भई चेलीहरु गित गाउने गर्दछन् ।

सामा चकेवा पर्व कार्तिक शुक्ल पञ्चमीदेखि शुरु भई १० दिनसम्म चल्ने र पुर्णिमा अर्थात ११ औं दिन माटोको सतभईया, चुगला, सामा, चकेवालगायत प्रतिमा भाइको हातबाट फुटाई जोतिएको खेत वा वनमा राखि विसर्जन गरिन्छ । वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोष कापडि भ्रमरका अनुसार सामा चकेवाको विशेष पात्रको रूपमा रहेको चुगलाको मुखमा १० दिन सम्म निरन्तर कालो पोत्ने गरिन्छ । हाम्रो समाजमा चुगला अर्थात कुरा लगाउने धेरै रहेको र यस्तोलाई उजागर गरी समाजलाई स्वच्छ बनाउने उद्देश्यले चुगलालाई जलाउने कालो पोतने परम्परा रहेको छ ।

मिथिलाञ्चलको महत्वपूर्ण यो पर्व पछिल्लो समय शहरी क्षेत्रहरूमा लोप हुने अवस्थामा पुगेको छ । सामा चकेवाका गीतहरूले साच्चै सामा खेल्नेदेखि सामा चकेवा खेल हेर्नेहरू पनि रोमाञ्चित हुनु स्वभाविक नै हो । तर, वर्तमानमा भने सामाका यस्ता लोकगीतहरू मिथिलाञ्चलका शहरी क्षेत्रहरूमा विरलै सुन्न पाइन्छ । मौलीक सामा चकेवाको ठाउँ भने फिल्मी गीतहरूले लिन थालेका छन् । साथै शहरी क्षेत्रका १० परिवारमध्ये करिब ६ परिवारले सामा चकेवा खेल्न छोडिसकेको अवस्था रहेको जानकारहरु बताउछन् ।

भाई र बहिनीबीच स्नेह रहिरहोस भन्ने अभिप्राय रहेको यो पर्वको संरक्षण गर्नु आवश्यक छ । वर्तमानमा समयको अभाव र शहरी परिवेश तथा रहन सहनका साथै सामा चकेवा खेल्ने संस्कृति पूर्ण रूपमा हस्तान्तरण हुन नसक्दा लोपको अवस्थामा पुगेको हो । द्वापरयुगदेखि नै सुरु भएको मान्यता रहेको सामा चकेवा पर्वको संरक्षण सम्बद्र्धन गरी आफ्नो संस्कृतिलाई जिवित राख्नु हामी सबैको दायित्व हो ।

तस्वीर : संजय कुमार साह