एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १ : तराई मधेश खास गरि मिथिलाञ्चलमा आज ‘भरदुतिया’ पर्व उल्लासका साथ मनाइदैछ । मधेसमा तिहारको अन्तिम दिन भरदुतिया (भातृद्वितीया) मनाईन्छ । यसलाई पहाडमा भाईटिकाको रुपमा मनाइन्छ । पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी मनाइएको थियो । तेस्रो दिन भरदुतिया उल्लासपूर्वक मनाइदैछ । यस पर्वलाई भाइदुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मधेसी समाजमा मनाइदै आइएको छ ।
दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा रातो टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार प्रदान गर्ने परम्परा छ । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसी समाजमा कायमै छ । भरदुतियाका लागि दाजुभाईहरु टाढा रहेकी दिदी वहिनीहरुको घर सम्म पुग्ने गर्दछ ।

भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछीन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ । दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ ।

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइ दिएर दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ । यद्यपि भाईटिका र भरदुतियाको आस्था समान रहेपनि दाजुभाई र दिदी वहिनीहरुको अपार स्नेह दर्शाउने पर्व भरदुतियाको विधि भन्दा मधेशमा पनि भाईटिकाकै विधिले स्थान पाउन थालेको देखिन्छ ।






