एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ३ :
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गर्छन् । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ ।

जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा कलशको वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना तथा जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी, र महासरस्वतीको पञ्चोपचारले पूजाआजा गर्ने चलन छ ।

धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । आजको दिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैँ पूजा गरिएको हुन्छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।