एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २० :
मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको सहमति जुटेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ । नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपाबीच नयाँ गठबन्धन सरकार गठन गर्ने समझदारी बनेपछि नेकपाका तर्फबाट सरकारमा सहभागी चारै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेकाले उनीहरूले ह्वाट्सएपमार्फत राजीनामा पत्र पठाएको एक मन्त्रीले जानकारी दिए ।
राजीनामासँगै नेकपाले प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । यससम्बन्धी पत्र प्रदेश प्रमुखसमक्ष दर्ता गराइएको छ । यसअघि नै एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
एमाले प्रदेशसभा संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार एमाले, जसपा नेपाल र नेकपाबीच केन्द्रस्तरमा जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । कांग्रेसलाई प्रतिपक्षमा राखेर तीन दलको सहभागितामा सरकार बनाउने समझदारी जुटेको उनले बताए ।
नयाँ सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँट र सरकार गठनको प्रक्रियालाई अन्तिम रूप दिन तीनै दलका प्रदेशसभा संसदीय दलका नेताहरू काठमाडौंमा छलफलमा जुटेका छन् ।
‘केन्द्रमा पार्टी अध्यक्षहरूबीच सहमति जुटिसकेको छ । अब नेताहरूसँग बसेर भागबन्डासहित समीकरणलाई अन्तिम रूप दिने तयारी छ,’ यादवले भने ।
यसअघि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार जोगाउन कांग्रेस सभापति गगन थापाले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर, ती प्रयास सफल हुन सकेनन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत जुटाउन विभिन्न दलका नेताहरूसँग संवाद अघि बढाए पनि एमाले वर्तमान गठबन्धनमा नफर्किने एमाले नेता यादवले दाबी गरेका छन् ।
तीन दलबीचको सहमति कार्यान्वयन भए मधेस प्रदेशमा कांग्रेस नेतृत्वको वर्तमान सरकार विस्थापित भई जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । यद्यपि, नयाँ सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटबारे औपचारिक घोषणा हुन बाँकी छ ।


