एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २० :
जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजना अघि बढेसँगै रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ । यसैक्रममा रेलमार्गको प्राविधिक अवस्था र सञ्चालनको सम्भाव्यता परीक्षण गर्न १७ बगीको भारतीय रेल चलाइएको छ ।
नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार नेपाल र भारत दुवै पक्षको पहलमा जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षण अघि बढाइएको हो ।
उनका अनुसार रेल सञ्चालनसम्बन्धी प्राविधिक परीक्षण तथा अन्य आवश्यक प्रक्रिया पूरा हुन बाँकी छ । प्रस्तावित योजनाअनुसार जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ भने त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीनवटा स्टेसनमा यात्रु चढाएर अयोध्यासम्म पुर्याइनेछ ।
जनकपुरधाम र अयोध्यालाई रेलमार्गबाट जोड्न सके धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै दुवै क्षेत्रबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ । यद्यपि, सेवा सञ्चालनको मिति भने तय भइसकेको छैन ।


