एसपी रिपोर्टर
जनकपुरधाम, असोज १६ :
कमला नदी तथा यसको जलाधार क्षेत्र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधामदेखि भारतको देहरादुनसम्म ५२ दिने अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु भएको छ ।
कमला जलाधार संरक्षण अभियान ‘कमला बचाउ अभियान’को आयोजनामा शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट यात्रा सुरु भएको हो । यात्राको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गरेका छन् ।
भारतका पर्यावरण अभियानी अनिल प्रकाश जोशीको नेतृत्वमा सुरु भएको यात्रा बिहार, झारखण्ड, राजस्थान र उत्तर प्रदेश हुँदै देहरादुन पुगेर सम्पन्न हुनेछ ।
यात्राका क्रममा कमला नदी तथा जलस्रोत संरक्षणबारे नेपाल र भारतका विभिन्न स्थानमा जनचेतना अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई नदी संरक्षणमा सहभागी गराउने तथा जल, पर्यावरण र सांस्कृतिक सम्बन्धका विषयमा जनस्तरीय संवाद बढाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिस पटेल, खानेपानी तथा ऊर्जा, सिँचाइ मन्त्री जवाहरलाल कुशवाहा तथा कमला बचाउ अभियानका संयोजक विक्रम यादवको उपस्थिति थियो ।

