एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ :
त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) का क्याम्पस प्रमुख प्रा.डा. वसन्तकुमार कर्णले क्याम्पस प्रशासन र आफ्नो कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति आपत्ति जनाएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कर्णले निवर्तमान स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का केही पदाधिकारी तथा युवाहरूले आफू र क्याम्पस प्रशासनविरुद्ध भ्रामक तथा निराधार सामग्री सामाजिक सञ्जालमार्फत प्रसार गरिरहेको दाबी गरे ।
क्याम्पस सुधारका लागि आफूले अघि बढाएका कामलाई प्रभावित पार्ने उद्देश्यले यस्ता सामग्री प्रचार गरिएको उनको आरोप थियो । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका विषयमा तथ्यको पूर्ण अध्ययन नगरी क्याम्पस प्रशासनलाई विवादमा तान्ने प्रयास भएको उनले बताए ।
पत्रकार सम्मेलनमा कर्णले आयकर कट्टी, विभिन्न फर्म तथा भ्याट विवरणसँग सम्बन्धित कागजातका विषयमा उठाइएका प्रश्नबारे पनि आफ्नो धारणा सार्वजनिक गरे ।
उनका अनुसार आन्तरिक राजस्व कार्यालय जनकपुरधामबाट आयकर कट्टीसम्बन्धी कागजात एक पूर्वठेकेदारलाई उपलब्ध गराउने क्रममा कागजातको गोपनीयता चुहिएको अवस्था देखिएको थियो । त्यसपछि ती कागजातमा रहेका विवरणलाई लिएर विभिन्न किसिमका प्रचार भएको उनको भनाइ थियो ।
भ्याटसम्बन्धी कागजातमा उल्लेख भएका प्यान नम्बर र ती नम्बरअन्तर्गत रहेका फर्मका विषयमा समेत गलत व्याख्या गरिएको कर्णले दाबी गरे । एउटै प्यान नम्बरबाट एकभन्दा बढी प्रकृतिका व्यवसाय सञ्चालन गर्न सकिने कानुनी व्यवस्थालाई बेवास्ता गरी क्याम्पस प्रशासनलाई विवादमा तान्ने प्रयास भएको उनले बताए ।
पटेल अण्डा उद्योगसँग जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचारबारे पनि कर्णले स्पष्टीकरण दिएका छन् । उनका अनुसार उक्त व्यवसायका सञ्चालक रुपेश पटेलकै नाममा पटेल होटलसमेत सञ्चालनमा रहेको छ ।
क्याम्पसमा आउने अतिथिका लागि उक्त होटलबाट खाना तथा नास्ता उपलब्ध गराइएको र त्यसबापत भुक्तानी गरिएका बिललाई अण्डा खरिदको बिलका रूपमा प्रचार गरिएको कर्णको दाबी छ ।
त्यस्तै, आरती किराना तथा कस्मेटिक्सका सञ्चालक सरोजकुमार यादवको प्यान नम्बरमा आरती ट्राभल्स एण्ड टुर्ससमेत रहेको उनले बताए । क्याम्पसले उक्त ट्राभल्ससँग गरेको वार्षिक सम्झौताअनुसार विद्यार्थी तथा कार्यालय प्रयोजनका लागि प्रयोग भएका सवारीसाधनको भुक्तानीलाई विभिन्न खाद्यान्न तथा अन्य सामान खरिदसँग जोडेर प्रचार गरिएको उनको भनाइ छ ।
क्याम्पस प्रमुख कर्णले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका विषयमा तथ्य र कागजातको वास्तविकता अध्ययन गरेर मात्र धारणा बनाउन आग्रह गरेका छन् । उनले क्याम्पस प्रशासन पारदर्शी रूपमा काम गर्ने र क्याम्पस सुधारका लागि अघि बढाइएका गतिविधिलाई निरन्तरता दिने बताए।

