एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० :
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले धनुषामा संगठनात्मक गतिविधि अघि बढाएको छ ।
महाधिवेशनको तयारी, नेता–कार्यकर्ताबीच समन्वय तथा संगठन परिचालनका लागि देउवा पक्षले नेता कमलकान्त झालाई धनुषाको जिम्मेवारी दिएको जनाएको छ । झाले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जिल्लामा महाधिवेशनसम्बन्धी तयारी थालिएको जानकारी दिए ।
उनका अनुसार वडा तहदेखि जिल्ला तहसम्मका नेता तथा कार्यकर्ताबीच समन्वय गर्दै अधिवेशन प्रक्रियालाई व्यवस्थित बनाउन छलफल तथा संगठन परिचालनका गतिविधिलाई निरन्तरता दिइनेछ ।
देउवा पक्षीय नेता तथा कार्यकर्ताबीच यसअघि धनुषामा जिल्लास्तरीय बैठकसमेत बसेको थियो । बैठकमा वडा, पालिका, क्षेत्र र जिल्ला तहमा संगठनात्मक तयारी, नेता–कार्यकर्ताबीच समन्वय तथा महाधिवेशनका लागि आवश्यक तयारीबारे छलफल भएको झाको भनाइ छ ।
देउवा पक्षले अघि सारेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन तथा असोज २३ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तयारी छ । त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन तथा मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारिएको छ ।
धनुषामा पनि यही कार्यतालिकालाई आधार बनाएर अधिवेशनको तयारी अघि बढाइने झाे बताए । जिल्लाका सबै तहका नेता तथा कार्यकर्तासँग समन्वय गरी संगठनलाई सक्रिय बनाउने र अधिवेशनका लागि आवश्यक तयारी पूरा गर्ने उनले बताए ।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र भने फरक–फरक कार्यतालिकाअनुसार गतिविधि अघि बढिरहेका छन् । सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले असोज ३ र ४ गते वडा अधिवेशन गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको छ । कांग्रेसको आधिकारिक वेबसाइटमा पनि असोज १६ देखि १९ गतेसम्म महाधिवेशन हुने उल्लेख छ भने वडा अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।
उता, देउवा पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म छुट्टै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।
पत्रकार सम्मेलनमा जिल्ला उपसभापति लक्ष्मीनारायण यादव, पूर्वसांसद स्मृतिनारायण चौधरी, पूर्वसांसद प्रमिला दास, पूर्वजिल्ला सभापति महेशशंकर गिरी, जिल्ला सचिव कन्हैया कर्ण, वरिष्ठ नेता गणेश तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशका अध्यक्ष रामभरत साह, जिल्ला समन्वय समिति धनुषाकी उपसभापति संगिता ठाकुर, मुस्लिम संघ धनुषाका अध्यक्ष मो. इब्राहिम तथा क्षेत्रीय सभापति रामचन्द्र पजियारलगायतको सहभागिता थियो ।
त्यस्तै, नेता सुरेश कोइराला, तरुण दल धनुषाका अध्यक्ष सञ्जय लाभ कर्ण, क्षेत्रीय सचिव हरि राउत, कमलकान्त झा तथा विभिन्न तहका पदाधिकारी, युवा र महिला प्रतिनिधिसमेत पत्रकार सम्मेलनमा सहभागी थिए ।