एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० :
वैदिक सनातन हिन्दू परम्पराअनुसार शनिबारदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म चल्ने पितृ पक्षमा दिवंगत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने धार्मिक परम्परा छ ।
पितृप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्ने यस अवधिमा जनकपुरधामको ऐतिहासिक गंगासागरमा तर्पण गर्न पुग्ने श्रद्धालुको संख्या बढेको छ । पितृको आत्माको शान्तिको कामना गर्दै गंगासागरलगायत विभिन्न पोखरी तथा धार्मिकस्थलमा तर्पण र पिण्डदान गर्ने गरिन्छ ।
वैदिक सनातन परम्पराअनुसार चाडपर्व, यज्ञ तथा अन्य ठूला धार्मिक कार्य गर्नुअघि दिवंगत पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म दिवंगत पितृको मृत्यु तिथिअनुसार श्राद्ध गरिने भएकाले यस अवधिलाई सोह्र श्राद्ध भनिएको हो ।

धार्मिक मान्यताअनुसार पितृलाई प्रसन्न पार्न, जानेर वा नजानेर भएको अनादरप्रति क्षमा माग्न तथा पितृप्रति कृतज्ञता व्यक्त गर्न श्राद्ध गर्ने गरिन्छ । श्राद्ध गरेमा पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त भइने विश्वास छ ।
पितृ पक्षका बेला दिवंगत पितृ पिण्ड र पानीको आशमा पितृलोकबाट मृत्युलोकमा आउने धार्मिक मान्यता रहेको छ । तर्पण तथा पिण्डदान गरेमा पितृको आत्माले शान्ति प्राप्त गर्ने जनविश्वास छ ।
सोह्र श्राद्धको पहिलो दिन कुश, तिल, जौ, फुली, काक्रो तथा द्रव्य हातमा लिएर ऋषिमुनिप्रति श्रद्धा प्रकट गर्दै तर्पण गर्ने परम्परा छ । यसलाई अगस्त्य तर्पण भनिन्छ । अगस्त्य तर्पणको भोलिपल्टदेखि दिवंगत पितृको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने गरिन्छ ।
मिथिलामा दशैँ, दीपावली तथा छठजस्ता प्रमुख पर्वअघि दिवंगत पितृलाई स्मरण गर्दै तर्पण तथा पिण्डदान गर्ने परम्परा रहँदै आएको छ । सोही परम्पराअनुसार पितृ पक्ष सुरु भएसँगै जनकपुरधामको गंगासागरमा श्रद्धालुहरू तर्पणका लागि पुग्न थालेका छन् ।

