एसपी रिपोर्टर
जनकपुरधाम, असोज १० :
नेपाली कांग्रेसका नेता एवं मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले कांग्रेस सभापति गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति व्यङ्ग्य गर्दै ‘विनाशकाले विपरीत बुद्धि’ भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका अधिवेशनलाई सम्बोधन गर्दै यादवले थापालाई ‘गैंग्सटर’ भन्नेहरूको बुद्धिको दाद दिनुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन्।
यादवले कांग्रेसका एक नेताप्रति संकेत गर्दै पछिल्लो समय बौखलाहटमा जे पायो त्यही बोल्ने प्रवृत्ति देखिएको बताए। ‘विनाश जब आउँछ नि, यस्तोमा बुद्धि बिग्रिहाल्छ,’ उनले भने।
उनले चुनदेवीमा रहेका केही नेता–कार्यकर्ताले कुवचन बोल्ने र प्रयोग गर्न नहुने शब्दसमेत प्रयोग गर्ने गरेको बताए। त्यसको विपरीत गगन थापाले कुनै पक्षलाई ठेस नपुग्ने गरी सन्तुलित ढंगले अभिव्यक्ति दिने गरेको यादवको भनाइ थियो।
डिजिटल युगमा विगतका अभिव्यक्ति र गतिविधि लुकाउन सम्भव नरहेको पनि यादवले बताए। सबैको हातमा मोबाइल र डिजिटल प्रविधिको पहुँच रहेकाले विगतमा बोलेका कुरा तथा गरेका गतिविधि सहजै सार्वजनिक हुने उनको भनाइ थियो।
टिकट वितरणका क्रममा आफूलाई समर्थन गर्दै नेताहरूले व्यक्त गरेका भनाइ स्मरण गराउँदै यादवले भने, ‘टिकट लग्ने बेलामा मैदानमा मेरो नेता गगन थापा भन्ने, भविष्यको प्रधानमन्त्री गगन थापा भन्ने, अहिले आएर आफ्नै नैतिकता र इमान्दारिता बिर्सिहाल्ने?’
कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले राजनीतिमा नैतिकता र इमान्दारिता कायम राख्नुपर्ने यादवले बताए। देशमा भएका हरेक आमूल परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पुरानो पुस्ताले अवसर ओगटिरहने प्रवृत्ति त्यागेर युवालाई नेतृत्वमा अवसर दिनुपर्नेमा जोड दिए।

