एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ :
मधेसमा ‘हुंकार मधेस’ नामको नयाँ राजनीतिक अभियान औपचारिक रूपमा घोषणा गरिएको छ। अभियानले अवधारणापत्र तथा केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेको जनाएको छ।
मधेसका राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक मुद्दालाई केन्द्रमा राखेको अभियानले युवा नेतृत्वलाई प्राथमिकता दिने जनाएको छ। अभियानले नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र तथा बहुभाषिक राज्यका रूपमा स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, समानुपातिक समावेशिता र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता जनाएको छ।
अभियानको अवधारणापत्रमा मुलुकमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्याको समाधानका लागि संघीयतावादी, पहिचानवादी, अधिकारवादी तथा प्रगतिशील शक्तिबीच एकता आवश्यक रहेको उल्लेख गरिएको छ।
‘हुंकार मधेस’ले मधेसी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम, महिला तथा अल्पसंख्यकलगायत समुदायको पहिचानलाई मान्यता दिनुपर्नेमा जोड दिएको छ। समानुपातिक समावेशीकरण र सामाजिक न्याय सुनिश्चित गर्दै विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण तथा संविधानप्रदत्त अधिकारको रक्षा र कार्यान्वयन गर्नुपर्ने अभियानको धारणा छ।
त्यस्तै, संविधान संशोधन तथा परिमार्जनका साथै शोषित तथा उत्पीडित समुदायका बाँकी अधिकार प्राप्तिका लागि संघर्ष गर्ने प्रतिबद्धता पनि अभियानले जनाएको छ।
अभियानले आफूलाई केवल सामाजिक अभियानमा सीमित नराखी सभ्यतागत पुनर्जागरण, वैचारिक पुनर्निर्माण र सामाजिक रूपान्तरणको अभियानका रूपमा अघि बढाउने जनाएको छ।