एसपी रिपोर्टर
जनकपुरधाम, असोज ९ :
गुठी–कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष समिति धनुषाले गुठी तथा कुटीको जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित गर्ने गरी घरटहरा हटाउने सूचना तथा प्रक्रिया रोक्न माग गरेको छ।
समितिले शुक्रबार जनकपुरधाममा नगर परिक्रमा गर्दै गुठीसम्बन्धी समस्याको दीर्घकालीन समाधानको मागसहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनपछि समितिले जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिका र गुठी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
गुठी संस्थानको निर्णय तथा त्यसअनुसार तयार पारिएको प्रतिवेदनका आधारमा गुठी तैनाथी जग्गा, पोखरी, मठमन्दिरलगायतको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको र सोही क्रममा घरटहरा हटाउने सूचना जारी भएपछि हजारौँ परिवारमा विस्थापनको त्रास बढेको समितिको भनाइ छ।
समितिले दशकौँदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित नगरी गुठीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गरेको छ। गुठी संस्थान ऐन, २०३३ को दफा २५ अनुसार २०४६ चैत २६ गतेभन्दा अगाडि निर्माण भएका घर रहेको जग्गालाई रैतान नम्बरीमा परिणत गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने समितिको माग छ। समितिका सचिव वचनदेव मण्डलले माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिए।