एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ :
गुठी कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष समितिले विभिन्न माग राख्दै शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गर्ने भएको छ।
समितिका अध्यक्ष सन्तोष साहका अनुसार गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित गर्ने गरी अघि बढाइएको प्रक्रियाको विरोधमा प्रदर्शन गर्न लागिएको हो।
प्रदर्शनका क्रममा जनकपुरधाममा नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले जानकारी दिए।
समितिले कुटीको जग्गामा बसोबास गर्दै आएका परिवारको जग्गा रैतान नम्बरी कायम गरी स्वामित्वको अधिकार दिनुपर्ने तथा तत्काल जग्गा खाली गराउने अवस्था सिर्जना नगरी उचित बास व्यवस्थापन गर्नुपर्ने माग गरेको छ।
माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष साहले बताए। प्रदर्शनमा जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका प्रभावित परिवार तथा व्यक्तिको सहभागिता रहने समितिले जनाएको छ।