एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ :
मधेश प्रदेशका आठवटै यातायात व्यवस्था कार्यालयबाट वितरण गर्न ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स कार्ड) पठाइएको छ।
मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भएर प्राप्त भएका स्मार्ट लाइसेन्स कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाउँदै वितरण प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयका अनुसार यातायात व्यवस्था कार्यालय गौरका लागि सबैभन्दा धेरै १ हजार १९१ थान र वीरगञ्जका लागि १ हजार १७२ थान स्मार्ट कार्ड पठाइएको छ। त्यस्तै, जनकपुरधामका लागि ९३२, लहानका लागि ४६०, बर्दिवासका लागि ३०३, राजविराजका लागि ५२, मलंगवाका लागि ३२ र कलैयाका लागि ११ थान स्मार्ट कार्ड पठाइएको मन्त्रालयले जनाएको छ।
श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले सेवाग्राहीले लामो समयसम्म सवारी चालक अनुमतिपत्रका लागि प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य गर्न उपलब्ध स्मार्ट कार्ड सम्बन्धित कार्यालयमार्फत व्यवस्थित रूपमा वितरण गर्न प्रक्रिया अघि बढाइएको बताइन्।
उनले सवारी चालक अनुमतिपत्र वितरणमा देखिँदै आएको ढिलाइ घटाउँदै सेवा प्रवाहलाई सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइन्।
मन्त्रालयले सम्बन्धित यातायात व्यवस्था कार्यालयका प्रतिनिधिलाई स्मार्ट कार्ड बुझिलिई आवश्यक प्रक्रिया पूरा गरेर सेवाग्राहीलाई वितरण गर्न निर्देशन दिएको जनाएको छ।

