एसपी रिपोर्टर
जनकपुरधाम, असोज ५ : जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका २ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका ८ की २६ वर्षीया सुधिरा मुखिया बिन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार असोज १ गते साँझ करिब साढे ६ बजे बर्थिङका लागि अस्पताल पुगेकी महिलाका आफन्तले चिकित्सक डा. सरोज साहमाथि हातपात गरेका थिए।
घटनाबारे जानकारी पाएपछि अस्पताल पुगेको प्रहरी टोलीले हातपातमा संलग्न रहेको आरोपमा मुखिया र मुखिया बिनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३(ग) अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
प्रहरीका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कसुर पुष्टि भएमा दोषीलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

