एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४:
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेसलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरेर द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन् ।
आइतबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले अबको राजनीति समाजलाई जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ,’ उनले भने ।
छठ पर्वका अवसरमा जनकपुरस्थित गंगासागरमा अर्घ दिएर जानकी मन्दिरको दर्शन गरेपछि सिंहले झापाको भद्रपुरबाट मेची–महाकाली पदयात्रा सुरु गर्ने घोषणा गरे । उनका अनुसार पदयात्रा गाडी वा रथमा नभई पैदल हुनेछ ।
जनतासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूका समस्या सुन्ने उद्देश्यले पदयात्रा गर्न लागेको सिंहले बताए । गाउँ–गाउँ र टोल–टोल पुगेर स्थानीयसँग छलफल गर्ने तथा आफूले कम बोल्ने र जनताको कुरा बढी सुन्ने उनको भनाइ छ । मञ्च बनाएर भाषण गर्नुभन्दा स्थानीयका समस्या प्रत्यक्ष सुन्ने योजना रहेको उनले बताए ।
पदयात्राका क्रममा युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदुरका समस्या, व्यापारीका समस्या र मधेसको अर्थतन्त्र चलायमान हुन नसक्नुका कारणबारे स्थानीयसँग छलफल गर्ने उनले बताए । सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या, सीमापार व्यापार, पारिवारिक तथा सामाजिक सम्बन्ध र सुरक्षासँग सम्बन्धित विषय पनि यात्राका क्रममा उठाउने सिंहले बताए ।
मधेसको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने सिंहले बताए । मधेसमा विद्यालयको गुणस्तर सुधार गर्नुका साथै सरकारी अस्पताल तथा विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार आवश्यक रहेको उनको भनाइ छ ।
मुटु, मिर्गौला र क्यान्सरजस्ता जटिल रोगको उपचारका लागि सरकारी स्तरमै सुपर स्पेसियलिटी सेवा आवश्यक रहेको उनले बताए । मधेसमा सरकारी मेडिकल, इन्जिनियरिङ तथा कृषि कलेज पर्याप्त नभएको भन्दै सिंहले यस्ता शैक्षिक संस्थाको विस्तार गर्नुपर्नेमा जोड दिए ।
सडक र सिँचाइलाई पनि मधेस विकासको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । हुलाकी राजमार्ग पूर्ण रूपमा सम्पन्न हुन नसकेको तथा कमला र वागमतीलगायतका क्षेत्रमा पुल तथा पूर्वाधार निर्माणमा समस्या रहेको सिंहले बताए ।
मधेसका खेतमा पर्याप्त सिँचाइ सुविधा पुर्याउन नसकिएको भन्दै उनले कोशीको पानी सप्तरी–सिरहासम्म र गण्डकको पानी बारा, पर्सा तथा रौतहटसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताए ।
पोखरी सौन्दर्यीकरणमा ठूलो रकम खर्च गर्ने तर विद्यालय र अस्पतालको भौतिक अवस्था सुधारमा पर्याप्त ध्यान नदिने प्रवृत्तिमाथि पनि सिंहले प्रश्न उठाए । विकास भनेको कंक्रिट निर्माण मात्र नभएको भन्दै उनले स्थानीय आवश्यकता र वातावरणीय प्रभावलाई ध्यान दिएर योजना बनाउनुपर्ने बताए ।
सिंहले मधेस आन्दोलनको उद्देश्य संविधानमा केही विषय लेखाउने वा राजनीतिक नेतृत्व निर्माण गर्ने मात्र नभई आर्थिक विकास, राजनीतिक सहभागिता र समान अवसर सुनिश्चित गर्नु रहेको बताए ।
मधेसको वर्तमान अवस्थाका लागि काठमाडौंलाई मात्र दोष दिन नहुने भन्दै उनले मधेसका राजनीतिक नेतृत्व र स्थानीय तहले पनि आफ्ना कमजोरीको समीक्षा गर्नुपर्ने बताए ।

