एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७:
गुठीको नाममा जनकपुरधामका स्थानीयलाई घरजग्गाबाट विस्थापित गर्न खोजिएको आरोप लगाउँदै स्थानीयले मसाल जुलुस प्रदर्शन गरेका छन्।
गुठी र सरकारविरुद्ध आन्दोलन सुरु गरिएको भन्दै प्रदर्शनकारीले बिहीबार साँझ जनकपुरधाममा मसाल जुलुस निकालेका हुन्।
प्रदर्शनकारी सन्तोषकुमार साहले संविधानले भूमिहीन तथा आर्थिक रूपमा विपन्न नागरिकको व्यवस्थापन गर्ने जिम्मेवारी राज्यलाई दिएको भए पनि जनकपुरधाममा गुठीको आडमा स्थानीयको घरजग्गा हटाउन खोजिएको आरोप लगाए।
उनले काठमाडौंलगायतका स्थानमा ठूलो परिमाणमा गुठीको जग्गा रहे पनि त्यसतर्फ ध्यान नदिई जनकपुरधामका स्थानीयलाई मात्रै गुठीको नाममा विस्थापित गर्न खोजिएको दाबी गरे। यही विषयको विरोधमा आन्दोलनको पहिलो चरणअन्तर्गत मसाल जुलुस निकालिएको उनले बताए।
साहले गुठीको नाममा स्थानीयका घर भत्काउने तथा तोडफोड गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरे। माग सम्बोधन नभए आन्दोलनलाई थप विस्तार गर्दै विभिन्न स्थानबाट नागरिकलाई सहभागी गराएर जनकपुरधाम हुँदै काठमाडौंसम्म पुर्‍याउने तयारी भइरहेको उनले बताए।
उनका अनुसार आगामी दिनमा थप विरोधका कार्यक्रम सार्वजनिक गरिनेछ। स्थानीयको घरजग्गासम्बन्धी समस्या र सम्भावित विस्थापनको विषयमा सरकार गम्भीर बन्नुपर्ने प्रदर्शनकारीको माग छ।