एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७:
नौ दलीय अग्रगामी मोर्चाले मधेस प्रदेशमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक संघर्षको तयारीलाई तीव्रता दिने घोषणा गरेको छ।
जनकपुरधाममा शनिबार आयोजित बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले वर्तमान राजनीतिक व्यवस्था, मधेसी समुदायका अधिकार, संघीयता, सुशासन र आगामी निर्वाचनबारे धारणा राख्दै संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने बताएका हुन्।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल आबद्ध छन्।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सत्ता स्वार्थका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्नु आफूहरूको गल्ती भएको बताए। उनले मधेसी समुदायले अझै पूर्ण अधिकार प्राप्त गर्न नसकेको भन्दै संघीयतालाई थप अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए।

यादवले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै अधिकार प्राप्तिका लागि पुनः आन्दोलन आवश्यक रहेको बताए। चाडपर्वपछि जनताको न्याय र अधिकारका लागि ठूलो आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए। रसुवामा भएको बाढीको घटनालाई जलवायु तथा वैदेशिक कारणसँग जोड्दै त्यसबाट भएको क्षतिको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने उनको भनाइ थियो।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अधिकारको संघर्षका लागि राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको बताए। राज्यले फरक–फरक व्यक्तिमाथि फरक व्यवहार गर्ने गरेको आरोप लगाउँदै उनले प्राप्त अधिकारको रक्षा गर्न नेता तथा कार्यकर्तालाई गाउँगाउँ पुगेर जनतासँग जोडिन आग्रह गरे।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटबाट गुज्रिरहेको भन्दै त्यसको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताए। मोर्चा सरकार ढाल्ने उद्देश्यले नभई देशलाई संकटबाट निकास दिन गठन गरिएको उनको भनाइ थियो। उनले आगामी दिनमा देशभर संगठन विस्तार र जनपरिचालनलाई प्राथमिकता दिने बताए।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ले मोर्चा चुनाव लक्षित मात्रै नभई मुलुकको आवश्यकताअनुसार गठन भएको बताए। उत्पीडित, दलित तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न मोर्चाले भूमिका खेल्ने उल्लेख गर्दै उनले संगठनलाई तल्लो तहसम्म विस्तार गरिने बताए।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आगामी निर्वाचनमा मोर्चामा आबद्ध दलहरू एउटै चुनाव चिह्नबाट सहभागी हुने तयारी भइरहेको जानकारी दिए। भविष्यमा स्थायी राजनीतिक एकता कायम गर्ने दिशामा समेत छलफल भइरहेको उनले बताए।
बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन रञ्जनले समावेशी तथा आरक्षण व्यवस्थाबाट सीमान्तकृत र दलित समुदायले अवसर प्राप्त गरेको भन्दै प्राप्त उपलब्धिको संरक्षणसँगै थप अधिकारका लागि संघर्ष गर्नुपर्ने बताए। उनले हालको भन्दा अझ बलियो र अधिकारसम्पन्न संघीयताको आवश्यकता रहेको धारणा राखे।
मोर्चाले मधेस प्रदेशमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।