एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाको जिल्ला अधिवेशन एक पक्षले बहिष्कार गरेपछि विवादित बनेको छ।
आफूहरूलाई जानकारी नै नदिई जिल्ला अधिवेशन आयोजना गरिएको भन्दै राप्रपाका केन्द्रीय सुशासन विभागका केन्द्रीय सदस्य श्रवण झा नेतृत्वको एक पक्षले अधिवेशन बहिष्कार गरेको हो।
झाका अनुसार अधिवेशनबारे आफूहरूलाई पूर्वजानकारी दिइएको थिएन। विभिन्न माध्यमबाट सूचना पाएपछि मात्रै अधिवेशन भइरहेको थाहा भएको उनले बताए। त्यसपछि आफ्ना असन्तुष्टि र मागहरू राख्दै आफूहरू अधिवेशनबाट बाहिरिएको उनको भनाइ छ।
वडा समिति, क्षेत्रीय समिति लगायतका संगठनात्मक संरचनाको अधिवेशन सम्पन्न नभएको अवस्थामा जिल्ला अधिवेशन गरिनु वैधानिक तथा संगठनात्मक रूपमा स्वीकार्य नहुने झाको दाबी छ। आफूहरूको माग सम्बोधन नगरी अधिवेशन अघि बढाइए समानान्तर जिल्ला समिति गठन गर्नेसम्मको कदम चाल्न बाध्य हुने उनले चेतावनी दिए।
अधिवेशन बहिष्कार गरेपछि राप्रपाकै नेता तथा कार्यकर्ताहरूले राप्रपा मधेस प्रदेशका अध्यक्ष भरत गिरीविरुद्ध नाराबाजीसमेत गरेका थिए। नाराबाजी गर्दै उनीहरू अधिवेशनस्थलबाट बाहिरिएका थिए।
जिल्ला अधिवेशनको विषयलाई लिएर राप्रपा धनुषाभित्र दुई पक्षबीच विवाद चर्किँदै गएको छ।