एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २५:
शहीद सञ्जय चौधरीसहित मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा शहीद परिवारको सम्मानमा जनकपुरधाममा ‘मधेशका लागि अबको बाटो’ विषयक संवाद कार्यक्रम गरिएको छ।
शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान, नेपालको आयोजनामा बिहीबार जनकपुरधाममा आयोजित संवाद कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको योगदानको स्मरण गर्दै शहीद परिवारप्रति सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रममा मधेशको अधिकार, पहिचान र समानताका लागि भएका आन्दोलनमा शहीदहरूले खेलेको भूमिका, उनीहरूको योगदान तथा शहीद परिवारको वर्तमान अवस्थाबारे चर्चा गरिएको थियो। वक्ताहरूले शहीदहरूको योगदान र बलिदानलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै शहीद परिवारप्रतिको सम्मान र दायित्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण तथा संस्थागत गर्दै शहीदहरूको सपना पूरा गर्ने दिशामा अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा मधेशवादी नेताहरू डा. विजयकुमार सिंह, लालकिशोर साह, सञ्जय सिंह, विभा ठाकुर, ममता चौधरीलगायतको उपस्थिति थियो।
यसैगरी, मधेश आन्दोलनका क्रममा जनकपुरधाममा सहादत प्राप्त गरेका निकु यादव, दिलीप यादव र सञ्जय चौधरीको स्मृति दिवसका अवसरमा बुधबार शहीदद्वार परिसरमा सरसफाइ तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो। सहभागीहरूले शहीदद्वार परिसरको सरसफाइ गर्दै तीनै जना शहीदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
२०७२ साल भदौ २५ गते तत्कालीन मधेश आन्दोलनका क्रममा जनकपुरधाममा आयोजित ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रममा सहभागी भएका बेला प्रहरीको गोली लागेर निकु यादव, दिलीप यादव र सञ्जय चौधरीले सहादत प्राप्त गरेका थिए।





