एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ :
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह नेपाल नगरपालिका संघ, मधेस प्रदेशको संयोजकमा चयन भएका छन्।
संघका तत्कालीन संयोजक तथा हँसपुर नगरपालिकाका नगरप्रमुख स्वर्गीय प्रदीप यादवको असामयिक निधनपछि रिक्त रहेको संयोजक पदमा साहलाई चयन गरिएको हो। संघले औपचारिक रूपमा संयोजकमा चयन गरिएको पत्रसमेत उनलाई हस्तान्तरण गरेको छ।
संयोजकको जिम्मेवारी ग्रहण गर्दै साहले मधेस प्रदेशका सबै नगरपालिकाबीच समन्वय, सहकार्य र साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय तहका साझा समस्या समाधान, नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकताका साथ अघि बढाउने बताए।
नयाँ नेतृत्वसँगै नेपाल नगरपालिका संघ, मधेस प्रदेशले प्रदेशका नगरपालिकाको साझा हित संरक्षण, विकास निर्माणका कार्यक्रम तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा अझ प्रभावकारी रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।