एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ :
धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। कार्यक्रममा जलवायु परिवर्तनका कारण धान उत्पादनमा देखिएका चुनौतीलाई आधुनिक तथा जलवायुमैत्री प्रविधिमार्फत सामना गर्दै उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकाले धान उत्पादनमा आत्मनिर्भर बन्न आधुनिक प्रविधि, अनुसन्धान तथा किसानमैत्री नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा उत्पन्न चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार, अनुसन्धान संस्था, स्थानीय तह र किसानबीच समन्वय तथा सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले कृषकलाई उन्नत प्रविधि, गुणस्तरीय बीउ, सिँचाइ सुविधा तथा प्राविधिक सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका प्रमुख मथुरा प्रसाद यादवले पछिल्ला वर्षमा धान उत्पादनमा सुधार हुँदै गएको जानकारी दिँदै यस क्षेत्रमा प्रतिहेक्टर करिब चार टन उत्पादन भइरहेको बताए। तर अनियमित वर्षा, अत्यधिक तापक्रमलगायत जलवायु परिवर्तनका असरले उत्पादनमा चुनौती थपिएको उल्लेख गर्दै उत्पादन वृद्धि र खाद्य सुरक्षा सुनिश्चित गर्न अनुसन्धानमा आधारित जलवायुमैत्री खेती प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमका वक्ताहरूले अनुसन्धानबाट विकसित उन्नत जातका बीउ, प्रभावकारी सिँचाइ व्यवस्थापन, कृषि यान्त्रिकीकरण तथा आधुनिक खेती प्रणाली किसानसम्म विस्तार गर्नुपर्नेमा जोड दिए। उनीहरूले जलवायु परिवर्तनअनुकूल कृषि प्रणाली अवलम्बन गरे मात्रै उत्पादन र उत्पादकत्व दुवै वृद्धि गर्न सकिने धारणा राखे।
दिवसका अवसरमा अनुसन्धान केन्द्र परिसरमा सामूहिक धान रोपाइँसमेत गरिएको थियो। कार्यक्रममा कृषि वैज्ञानिक, प्राविधिक, किसान, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।
यस वर्ष सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको हो। कृषि विभागले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै धान उत्पादन वृद्धि गर्न आधुनिक तथा प्रविधिमैत्री खेती प्रणाली अपनाउन किसानलाई आग्रह गरेको छ।





