एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ :
एमालेका मधेस प्रदेश कमिटी सदस्य शिवशंकर साह हिराले झुठा मुद्दा लगाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएपनि आफूले प्रतिशोध नलिने बताएका छन् । एमाले नेता हिराले एक पत्रकार सम्मेलनको आयोजना गरी हुँदै नभएको घटनालाई अतिरञ्जित गरी आफ्नो चरित्र हत्या गर्नेविरुद्ध प्रतिशोध नसाध्ने स्पष्ट गरे । उनले भने ‘आफूमाथि झुठा मुद्दा लगाउनेलाई माता जानकी, यहाँका नागरिक समाजले सजाय दिनेछन् ।’
बालिका अपहरण तथा जबरजस्ती करणी मुद्दामा सफाई पाएपछि एमाले नेता हिराले आफ्नो राजनीतिक करियर समाप्त पार्नका लागि केही मेयर पदका अकांक्षी, आफ्नो प्रतिस्पर्धी, पूर्व मेयर मिलेर यस्तो लज्जास्पद षडयन्त्र रचेको आरोप लगाए । यद्यपि हिराले षडयन्त्र रच्ने को को हुन् भन्ने प्रश्नमा कसैको नाम भने खुलाउन चाहेनन् ।
हिराले भने ‘मलाई नेपालको न्याय प्रणालीमाथि विश्वास थियो, न्यायालयले मलाई न्याय गरेको छ म सन्तुष्ट छु, कसैविरुद्ध म अब प्रतिशोध साँध्दिन ।’
जिल्ला अदालत धनुषामा पीडितले नै आफूविरुद्ध कुनै किसिमको अपहरण वा बलात्कारको घटना नभएको बयान दिएको र अदालतले घटनाको सम्पूर्ण तथ्यलाई जाँच गरेर न्याय दिएको हिराले स्पष्ट पारे ।
जिल्ला अदालत धनुषाले घटनामा आरोपीहरु दोषी नरहेको भन्दै हिरासहित ६ जनालाई सफाई दिएको थियो । अदालतले एमाले नेता शिवशंकर साह हिरा, अमित ठाकुर, संजय महासेठ र मनोज साह, रामकुमार साह र रामबाबु झामाथि लगाइएको बालिका अपहरण तथा बलात्कारको अभियोगमा सफाई दिएको थियो ।





