एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ :
वर्षायाम सुरु भएसँगै जनकपुरधाम उपमहानगरपालिका ३ मा जलनिकास तथा सडक व्यवस्थापनको समस्या चर्किएपछि स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका छन्।
बिहीबार बिहान करिब एक घण्टा परेको वर्षापछि वडाका अधिकांश सडक जलमग्न बनेका थिए। घर, पसल तथा आँगनमा पानी पसेर जनजीवन प्रभावित भएपछि आक्रोशित स्थानीयले वडा कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका हुन्।
स्थानीय युवा प्रेम साह, कृष्णा साह, सुनिल दास, लक्ष्मण साह, सन्दीप साह र राहुल कर्णलगायतले दुई कार्यकालदेखि निर्वाचित जनप्रतिनिधिले आधारभूत पूर्वाधार विकासमा पर्याप्त ध्यान नदिएको आरोप लगाए। उनीहरूले सामान्य वर्षामै सडक डुबानमा पर्ने अवस्था रहेकाले साउन भदौमा समस्या अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।
प्रदर्शनकारीहरूले वडामा वर्षौंदेखि सडक तथा नालाको उचित व्यवस्थापन हुन नसकेको, नियमित सरसफाइ प्रभावकारी नभएको तथा फोहोर व्यवस्थापनसमेत अस्तव्यस्त रहेको गुनासो गरेका छन्। साथै, वडाभित्र रहेको ऐतिहासिक देवान पोखरीको संरक्षण र व्यवस्थापनमा समेत बेवास्ता गरिएको आरोप उनीहरूको छ।
स्थानीयका अनुसार विश्वप्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य जानकी मन्दिर नजिकै रहेको वडा नम्बर ३ को अव्यवस्थित अवस्थाले जनकपुरधामको समग्र छविमा समेत नकारात्मक प्रभाव पारिरहेको छ।
यता, वडाध्यक्ष दिपेन्द्र साहले स्थानीयको असन्तुष्टि स्वाभाविक रहेको स्वीकार गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताएका छन्। उनका अनुसार बजेट अभाव, प्राविधिक प्रक्रिया तथा प्रशासनिक जटिलताका कारण केही योजनाहरू समयमै सम्पन्न हुन सकेका छैनन्।
उनले जलनिकास सुधारका लागि केही योजना कार्यान्वयनको चरणमा रहेको र मुख्य नाला निर्माण तथा सडक स्तरोन्नतिलाई आगामी बजेटमा प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए। स्थानीयले उठाएका विषयप्रति वडा कार्यालय गम्भीर रहेको तथा सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको उनको भनाइ छ।
तर स्थानीयवासीले विगतमा पटक–पटक आश्वासन मात्र पाएको भन्दै अब प्रत्यक्ष रूपमा कामको परिणाम देखिनुपर्ने माग गरेका छन्। समस्या समाधानमा ढिलाइ भए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।





