एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ :
धनुषाको कमला नगरपालिका ३ स्थित लग्मा बजारमा नेपाली सेनाले निर्माण गरेको आरामस्थल (प्रतीक्षालय) तथा शुद्ध खानेपानी सुविधा स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
नेपाली सेनाको श्री विष्णु दल गण, महेन्द्रनगरले ‘शीघ्र प्रभावी आयोजना’ अन्तर्गत करिब १० लाख रुपैयाँको लागतमा निर्माण गरेको उक्त संरचना बिहीबार आयोजित एक समारोहबीच कमला नगरपालिका तथा स्थानीय बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा नेपाली सेनाको मध्यपूर्वी पृतना, बर्दिबासका पृतनापति भुवन खत्रीले आयोजना औपचारिक रूपमा हस्तान्तरण गर्दै नेपाली सेना मुलुक र नागरिकको हितमा समर्पित रहँदै जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
रिद्धिसिद्धि देवी माता मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा लग्मा बजारको हाटबजारमा आउने सर्वसाधारणलाई लक्षित गरी निर्माण गरिएको प्रतीक्षालय र खानेपानी सुविधाले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिएको छ।
आयोजना ग्रहण गर्दै कमला नगरपालिकाका नगरप्रमुख विश्वेश्वर यादवले ग्रामीण क्षेत्रमा नागरिकका दैनिक आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण गरेकोमा नेपाली सेनाप्रति आभार व्यक्त गरे। उनले स्थानीय सरकारका लागि समेत उपयोगी हुने खालका संरचना निर्माण भएको बताए।
उद्घाटनसँगै स्थानीयवासीले खानेपानी र विश्रामस्थलको सुविधाबाट राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमका अवसरमा वृक्षारोपणसमेत गरिएको थियो।
समारोहमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, श्री विष्णु दल गणका गणपति खिलेन्द्रराज अमगाई, नेपाली सेनाका विभिन्न गणका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।