एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ :
सरकारी विज्ञापन तथा सार्वजनिक सूचना वितरणसम्बन्धी हालैको सरकारी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना कार्यक्रम गरेको छ।
एक घण्टासम्म चलेको धर्नामा सहभागी पत्रकारहरूले सरकारी विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने निर्णय फिर्ता लिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ धनुषाका अध्यक्ष पुरन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी परिपत्रका आधारमा लागू गरिएको व्यवस्था संविधानको भावना र प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको बताए। उनका अनुसार सरकारी विज्ञापन तथा सूचना वितरणलाई सीमित गर्दा स्वतन्त्र सञ्चारमाध्यम मात्र होइन, नागरिकको सूचनाको अधिकारसमेत प्रभावित हुन्छ।
त्यसैगरी प्रकाशक महासंघ नेपालका अध्यक्ष शंकर साहले स्वतन्त्र सञ्चारमाध्यमलाई सरकारी सूचना र विज्ञापनबाट वञ्चित गर्ने प्रयासले सञ्चार क्षेत्रको आर्थिक तथा व्यावसायिक अस्तित्वमा प्रत्यक्ष असर पर्ने बताए। लोकतान्त्रिक मुलुकहरूमा विज्ञापन वितरणलाई सीमित गर्ने अभ्यास सामान्य नरहेको उल्लेख गर्दै उनले उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरे।
धर्नामा सहभागी सञ्चारकर्मीहरूले चैत १८ गतेको सरकारी निर्णय संविधान, प्रचलित विज्ञापनसम्बन्धी कानुनी व्यवस्था, सूचनाको हक तथा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रतासम्बन्धी मान्यताविपरीत रहेको दाबी गरेका छन्।
महासंघले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणका लागि आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। यसैक्रममा असार ५ गते नागरिक समाज, मानवअधिकारकर्मी तथा अन्य सरोकारवालासँग संयुक्त ऐक्यबद्धता कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको महासंघले जानकारी दिएको छ।





