एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ :
मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूको अधिकार, सम्मान र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै मधेशी शहिद एवं घाइते हकहित संघर्ष समितिले मंगलबार मधेस भवन अगाडि धर्ना कार्यक्रम आयोजना गरेको छ।
धर्नामा सहभागीहरूले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदका परिवार तथा घाइतेहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले शहिद तथा घाइतेहरूको हित संरक्षणका लागि आवश्यक कानुनी व्यवस्था गरी मधेशी शहिद प्रतिष्ठानलाई स्वायत्त संस्थाका रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन्।
संघर्ष समितिले शहिद परिवार र घाइतेहरूको जीवनस्तर सुधारका लागि भरणपोषण भत्ता लागू गर्नुपर्ने मागसमेत दोहोर्‍याएको छ। समितिका अध्यक्ष तथा मधेशी शहिद प्रतिष्ठानका सदस्य अवधेशप्रसाद पटेलले मधेश आन्दोलनका शहिद र घाइतेहरूको योगदानको उचित मूल्यांकन हुन नसकेको आरोप लगाए।
उनले प्रदेश सरकारले आफ्ना मागप्रति बेवास्ता गरे मधेस भवनमा तालाबन्दी गर्ने तथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए। माग सम्बोधन नभए टायर बालेर विरोध प्रदर्शन समेत गरिने उनले बताए।
संघर्ष समितिले संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै शहिद परिवार र घाइतेहरूको सम्मान, सुरक्षा तथा अधिकार सुनिश्चित हुने गरी प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेको छ।
मधेश आन्दोलनका क्रममा ६३ जनाले शहादत प्राप्त गरेका थिए। संघीयता कार्यान्वयनपछि तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले ५२ जना शहिद परिवारका सदस्यलाई रोजगारीका लागि नियुक्तिपत्र प्रदान गरेको थियो। तर तीमध्ये २५ जनाले मात्र रोजगारी पाएको र हाल १० जना मात्रै सेवामा कार्यरत रहेको संघर्ष समितिको दाबी छ। उनीहरू प्रदेश सरकारअन्तर्गत विभिन्न कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्।
सरकारले शहिद परिवारका लागि घोषणा गरेका सेवा–सुविधा प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोप लगाउँदै संघर्ष समितिले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ। समितिका अनुसार पहिलो चरणअन्तर्गत मधेस भवन अगाडि धर्ना तथा प्रदर्शन गरिएको हो। माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिइएको छ।