एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। मंगलबार आयोजना हुने तय भएको अधिवेशन अन्तिम समयमा रोकिएपछि जिल्लाको नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ।
पार्टीका जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई केन्द्रीय अनुशासन आयोगले जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि संगठनभित्र विवाद चर्किएको थियो। सोही विवादका कारण अधिवेशनस्थलमा तनाव उत्पन्न हुन सक्ने अवस्था देखिएपछि कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पार्टी स्रोतले जनाएको छ।
खुला सत्र सुरु गर्ने तयारी भइरहेका बेला जिल्ला पर्यवेक्षक बेचन यादवले सभापतिमाथिको कारबाहीबारे स्पष्ट धारणा नआएसम्म अधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने अडान राखेका थिए। त्यसपछि निर्वाचन सम्बन्धी तयारीसहित अन्य कार्यक्रम प्रभावित बनेका थिए।
केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालका अनुसार लक्ष्मेश्वर यादवमाथि पार्टीको विधान, आचारसंहिता तथा आन्तरिक कार्यविधिको पालना नगरेको, संगठनात्मक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको र समूहगत गतिविधिलाई प्रोत्साहन गरेको आरोप लागेको छ। ती आरोपका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।
धनुषामा देखिएको विवादसँगै मधेश प्रदेशका अन्य जिल्लामा पनि रास्वपाको संगठन विस्तार तथा नेतृत्व चयन प्रक्रियामा असहमति देखिन थालेको छ। केही जिल्लामा बन्द सत्रमै विवाद बढेपछि अधिवेशन प्रभावित बनेका छन् भने कतिपय स्थानमा कार्यक्रम नै स्थगित भएका छन्। यसले प्रदेशभर पार्टीको संगठनात्मक अभियान चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको छ।