एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ :
मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूको हक, अधिकार र सम्मान सुनिश्चित गर्न माग गर्दै मधेशी शहिद एवं घाइते हकहित संघर्ष समितिले आइतबार जनकपुरधाममा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागी शहिद परिवारका सदस्य तथा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूले राज्यले शहिद र घाइतेहरूको योगदानको उचित सम्मान गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले शहिद परिवार तथा घाइतेहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन्।
समितिले मधेश आन्दोलनका शहिद तथा घाइतेहरूको हित संरक्षणका लागि छुट्टै ऐनकानुन निर्माण गर्नुपर्ने, साथै मधेशी शहिद प्रतिष्ठानलाई स्वायत्त संस्थाका रूपमा सञ्चालन गर्नुपर्ने मागसमेत अघि सारेको छ। त्यस्तै, शहिद परिवार तथा घाइतेहरूको जीवनयापन सहज बनाउन भरणपोषण भत्ता लागू गर्नुपर्ने माग पनि प्रदर्शनमार्फत उठाइएको छ।
संघर्ष समितिका अध्यक्ष तथा मधेशी शहिद प्रतिष्ठानका सदस्य अवधेशप्रसाद पटेलले मधेश आन्दोलनमा बलिदान दिने शहिद तथा घाइतेहरूको योगदानलाई राज्यले उचित रूपमा मूल्याङ्कन गर्न नसकेको आरोप लगाए। आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिका परिवारप्रति राज्यले विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने भए पनि बेवास्ता भइरहेको उनको भनाइ थियो।
उनले शहिद परिवार र घाइतेहरूको मागप्रति संघीय तथा प्रदेश सरकार गम्भीर नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए।
समितिले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै शहिद तथा घाइतेहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित हुने गरी ठोस नीति, कार्यक्रम तथा कानुनी व्यवस्था ल्याउन आग्रह गरेको छ।





