एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको जिल्ला अधिवेशन आन्तरिक विवादका कारण प्रभावित बनेको छ। नेतृत्व चयन तथा संगठन विस्तारसँग सम्बन्धित मतभेद समाधान हुन नसकेपछि अधिवेशनका बाँकी कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
जिल्ला अधिवेशन निर्वाचन समितिले जारी गरेको निर्णयअनुसार निर्वाचन प्रक्रियाका क्रममा विभिन्न पक्षबीच देखिएको असमझदारी र विवादलाई सहमतिमार्फत समाधान गर्न थप समय आवश्यक परेकाले अधिवेशन स्थगित गरिएको हो।
पार्टीभित्र नगर तथा क्षेत्रीय तहका अधिवेशनदेखि नै प्रतिनिधि चयन, उम्मेदवारी दर्ता तथा नेतृत्व छनोटका विषयमा विवाद देखिँदै आएको थियो। केही स्थानमा विवाद चर्किँदा कार्यकर्ताबीच झडप र हातपातसमेत भएको बताइएको छ। सोही विवादको प्रभाव जिल्ला अधिवेशनसम्म पुगेपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो।
जिल्ला नेतृत्व चयनको विषयमा पनि पार्टीभित्र फरक–फरक धारणा देखिएको छ। एक पक्षले अधिवेशन प्रक्रियामा पारदर्शिता र विधिसम्मत अभ्यासको अभाव रहेको आरोप लगाएको छ भने अर्को पक्षले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न हुनुपर्ने अडान राख्दै आएको छ।
निर्वाचन समितिका संयोजक मनिषकुमार साहद्वारा हस्ताक्षरित निर्णयपत्रमा विवादित पक्षहरूबीच संवाद र छलफललाई प्राथमिकता दिँदै सहमतिको वातावरण निर्माण गर्न आवश्यक समय उपलब्ध गराउन कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ। समितिले निष्पक्ष, व्यवस्थित र सर्वस्वीकार्य ढंगबाट अधिवेशन सम्पन्न गर्ने वातावरण बनेपछि नयाँ कार्यतालिका सार्वजनिक गरिने जनाएको छ।
अधिवेशन स्थगित भएसँगै पार्टीको संगठन विस्तार अभियान प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ। केही प्रतिनिधिहरूले विवाद लम्बिँदा कार्यकर्तामा अन्योल र असन्तुष्टि बढ्दै गएको बताएका छन्। पटक–पटक अधिवेशन प्रक्रिया अवरुद्ध हुँदा संगठनात्मक गतिविधिमा समेत असर परेको उनीहरूको भनाइ छ।
महोत्तरीमा विकसित पछिल्लो घटनाक्रमले रास्वपाको जिल्ला संगठनभित्रको एकता, नेतृत्व व्यवस्थापन तथा संगठनात्मक सुदृढीकरणसम्बन्धी चुनौतीहरूलाई उजागर गरेको छ। अब पार्टी नेतृत्वले आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्दै अधिवेशन प्रक्रिया पुनः सञ्चालन गर्न सक्छ वा सक्दैन भन्ने विषयलाई कार्यकर्ता तथा राजनीतिक वृत्तले चासोका साथ हेरिरहेका छन्।