एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ :
महोत्तरीको पिपरा गाउँपालिकामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनका बुवाले मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
पिपरा गाउँपालिका ५ निवासी २८ वर्षीय कपिल दास गत वैशाख ९ गते साँझ गाउँ नजिकै रहेको आँप बगैंचामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। घटनापछि उनका बुवा कुलदिप दास तत्माले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराउँदै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
जाहेरीअनुसार कपिल दास वैशाख ९ गते बिहान करिब ११ बजे फोन आएपछि ‘लक्ष्मी चोकतर्फ जाँदैछु’ भन्दै घरबाट निस्किएका थिए। त्यसै दिन साँझ करिब ५:३० बजे पिपरा ५ स्थित चन्देश्वर यादवको आँप बगैंचामा कपडाको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।
स्थानीय पृचु यादवले खेततर्फ जाने क्रममा शव देखेपछि गाउँमा खबर गरेका थिए। त्यसपछि परिवारका सदस्य तथा स्थानीयवासी घटनास्थल पुगेका थिए। सूचना प्राप्त भएपछि अस्थायी प्रहरी चौकी पिपराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरेको थियो।
मृतकका बुवा कुलदिप दासले छोराको मृत्युबारे शंका व्यक्त गर्दै घटनाको गहिरो र निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।
प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। पोस्टमार्टम रिपोर्ट तथा अन्य प्रमाणका आधारमा मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।