एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ :
नेपालसहित विश्वभर बिहीबार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा प्रत्येक वर्ष मे २२ मा मनाइने यो दिवस जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन तथा दिगो विकासमा यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ ।
दिवसको अवसरमा मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयले जनकपुरधामस्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपालको जैविक सम्पदा, जैविक विविधताको महत्व तथा यसको संरक्षणका उपायबारे जानकारी गराइएको थियो ।

मन्त्रालयका निमित्त सचिव वेचन महतोले जैविक विविधता केवल वनजंगलसँग सीमित विषय नभई मानव जीवन, कृषि, जलस्रोत तथा वातावरणीय सन्तुलनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए । उनले यस्ता कार्यक्रमले नयाँ पुस्तामा वातावरण संरक्षणप्रति जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक महावीर दासले विद्यालयलाई ‘ग्रीन विद्यालय’का रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न वातावरणमैत्री कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनले विद्यालय परिसरमा हरियाली प्रवर्द्धन, सरसफाइ तथा वृक्षारोपणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै वातावरण संरक्षण अभियानमा विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रमसमेत गरिएको थियो । वन तथा वातावरण मन्त्रालयका अनुसार वातावरणीय प्रदूषण न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षारोपण प्रभावकारी माध्यम भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।





