एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० :
जनकपुरधाममा विभिन्न कार्यक्रमका साथ ६९औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ। ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने नारासहित आयोजित कार्यक्रममा प्रभातफेरी तथा रक्तदान गरिएको थियो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा सहकारी क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रभातफेरीपछि आयोजित कार्यक्रममा वक्ताहरूले सहकारी क्षेत्रमा देखिएका समस्या र सुधारका उपायबारे धारणा राखेका थिए।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले सहकारीकर्मी तथा बचतकर्ताहरू हाल समस्यामा रहेको उल्लेख गर्दै समाधान खोज्नु आवश्यक रहेको बताए। उनले सहकारीप्रति सकारात्मक सन्देश प्रवाह गर्दै विश्वास पुनःस्थापना गर्नु अहिलेको मुख्य आवश्यकता भएको धारणा व्यक्त गरे।
त्यसैगरी, प्रदेश सहकारी रजिष्ट्रार कार्यालय मधेशका प्रमुख रुपेशकुमार साहले सहकारी सुधारका लागि नियमनलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनले पारदर्शिताको अभाव नै सहकारी क्षेत्रको प्रमुख समस्या भएको उल्लेख गर्दै त्यसतर्फ ध्यान केन्द्रित गरिएको बताए।
नेपालमा प्रत्येक वर्ष चैत २० गते मनाइने राष्ट्रिय सहकारी दिवसले सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता अभिवृद्धि तथा सदस्यहरूको हित संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।