एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ :
चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन्। यो संख्या गत वर्षको तुलनामा केही घटेको हो।
शिक्षा विकास निर्देशनालयका अनुसार अघिल्लो वर्ष ८८ हजार ८५८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। यस वर्ष सहभागी संख्या करिब १ हजार २६७ ले कमी आएको छ।
परीक्षालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन प्रदेशभर २ सय ९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। ती केन्द्रहरूमा १ हजार ३ सय १६ विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पनि गरिएको छ। निर्देशनालयका अनुसार २ सय ९९ केन्द्राध्यक्ष, ४ सय ३३ सहायक केन्द्राध्यक्ष, ४ हजार २ सय ३५ निरीक्षक, ७ सय ३४ परीक्षा सहायक तथा १ हजार ६०३ कार्यालय सहयोगी परिचालन गरिनेछ।
सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन ४ हजार ४ सय ८५ जना सुरक्षाकर्मी खटाइने तयारी गरिएको छ।
यसैबीच, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय र शिक्षा तालिम केन्द्रलगायतका निकायको समन्वयमा प्रदेशस्तरीय अनुगमन टोली गठन गरिएको छ।
शिक्षा निर्देशक महेन्द्र महतोका अनुसार अनुगमन र समन्वयलाई प्रभावकारी बनाउँदै परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गरिने लक्ष्य राखिएको छ।