एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ :
छाडा चौपाया समस्या नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरपालिका ले पशु ‘ट्याग’ अभियान सुरु गरेको छ। गौशाला सञ्चालनमा ल्याउँदा पनि समस्या पूर्ण रूपमा समाधान नभएपछि उपमहानगरले पशु पहिचानमार्फत पशुधनीलाई जिम्मेवार बनाउने नयाँ रणनीति अघि बढाएको हो।

उपमहानगरका पशुविकास अधिकृत प्रभाकर झाले विगत दुई वर्षदेखि गौशाला सञ्चालनमा रहे पनि पशुधनीले गाईवस्तु छोड्ने प्रवृत्ति नहटेकाले समस्या झन् जटिल बन्दै गएको बताए। विशेषगरी दूध नदिने गाईहरू बेवारिसे रूपमा छोड्ने चलनका कारण नगर क्षेत्रमा छाडा चौपायाको संख्या बढ्दै गएको उनको भनाइ छ।
उनका अनुसार यसअघि पनि पशु छोड्ने धनीलाई जरिवाना गरिँदै आएको थियो। अब ट्याग प्रणाली लागू भएपछि पशु र पशुधनी दुवैको स्पष्ट पहिचान हुने भएकाले बारम्बार पशु छोड्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहज हुने विश्वास गरिएको छ।
ट्याग अभियानमार्फत नगरभित्र रहेका पशुहरूको संख्या, जात तथा पशुधनीको विस्तृत अभिलेख तयार पार्न पनि सहयोग पुग्ने उपमहानगरले जनाएको छ। यसले दीर्घकालीन रूपमा छाडा चौपाया व्यवस्थापनमा प्रभावकारी सुधार ल्याउने अपेक्षा गरिएको छ।





