एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी प्रधानमन्त्री बनाउने नभई आफै बन्ने पार्टी रहेको धारणा व्यक्त गरेका छन् । जनकपुरधामको जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर र जनक मन्दिरमा दर्शन, पूजापाठपछि पत्रकारहरुसँग कुराकानी गर्दै घिसिंगले उज्यालो नेपाल पार्टी कुनै प्रधानमन्त्री बनाउने भन्दा पनि आफै बन्ने पार्टी रहेको बताएका छन् ।
अब भाषण गरेर प्रधानमन्त्री बन्न नसकिने बताउदै उनले आफुहरु भाषण भन्दा पनि सेवा प्रवाह (डेलिभरी) मा विश्वास गर्ने पार्टी रहेको र जनतालाई सेवा गरेर महसुस गराएर प्रधानमन्त्री बन्ने बताए । देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउदै सवल र उज्यालो अभियान आफुहरुको मुख्य उद्देश्य रहेको उनको तर्क छ ।
उनले मधेश जनसंख्या, मतदाता र सर्वाधिक मतदान हुने परिवर्तनको विरासत बोकेको राजनीतिक स्थल रहेकाले हरेक कालखण्डमा हरेक राजनीतिक दलको प्राथमिकतामा मधेश पर्ने गरेको बताएका छन् । अध्यक्ष घिसिङ कुनै पनि भिभिआइपी बिरलै पुग्ने जनक मन्दिरसमेत पुगेर दर्शन गरेका थिए। उनले मधेशमा उम्मेदवार रहेका आफ्नो पार्टीका उम्मेदवारहरूको विषयमा बुझ्न र भेटघाट गर्न आफू आएको बताएका छन्।
सो अवसरमा अध्यक्ष घिसिङ्गले पिडारीचौकमा पार्टी कार्यालयको समुदघाटन गर्नुका साथै पार्टी मेधशकी नेतृ मनिषा साहले सञ्चालनमा ल्याएको ईको मिथिला (महिला उद्यमशिलता तथा प्रवद्वन कार्यशाला सेन्टर)को समुदघाटन समेत गरेका थिए । उनी आजै धनुषाधाम, सिरहा हुँदै सप्तरी सम्म पुग्ने कार्यक्रम छ ।





