एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : जनकपुरधाम जेसिजको वर्ष २०२६ को नयाँ कार्यसमितिको पदभार, सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कदमचौक स्थित जेसिज भवनमा आयोजित समारोहमा २०२५ वर्षका अध्यक्ष मुकेश कुमार साहले नवनिर्वाचित अध्यक्ष भावेश कुमार झालाई सपथ ग्रहण गराउँदै पद हस्तान्तरण गरेका थिए ।

त्यसपछि जेसिज विधि अनुसार नवनिर्वाचित अध्यक्ष झाले आफ्ना टिमका अन्य पदाधिकारी र सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । जनकपुरधाम जेसिजका पूर्व अध्यक्षहरूको पनि उपस्थितिमा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह सहितकाले शुभकामना दिँदै पहिलाकै जेसिज जस्तो लयमा फर्काउन नयाँ नेतृत्वलाई आग्रह गरेका छन् ।

भर्खरै आफ्नो ५० वर्ष पुरा सहित नेपाल जेसिजको भव्य महाधिवेशनको पाँचौ पटकको आतिथ्यता र सफल आयोजन सम्पन्न गरेको जनकपुर जेसिज जनकपुरधाम जेसिजको रूपमा आधिकारिक परिणत भएको छ ।





