एसपी रिपोर्टर

जनकपुरधाम, माघ १६ : आज माघ १६, शहीद दिवस। धनुषामा यतिबेला गणतन्त्र नेपालका लागि बलिदानी दिनुहुने प्रथम शहीद दुर्गानन्द झा दल र उम्मेदवारहरूको प्राथमिकतामा हुनुहुन्छ। धनुषा र खासगरि धनुषा निर्वाचन क्षेत्र नं. ३ को निर्वाचनहरुमा एक शहिद चर्चा र प्राथमिकतामा हुन्छन्, शहिद सम्राट भनेर चिनिने दुर्गानन्द झा । उहाँ प्रति श्रद्धाञ्जली अर्पण गर्दै आर्शिवाद लिएर चुनावी प्रचार प्रसारको आरम्भ हरेक दलका उम्मेदवारहरुले गर्ने गरेका छन् ।

सोहि अवसरमा आसन्न फागुन २१ गतेको निर्वाचन नजिकिदै गर्दा माघ १५ गते विहिवार पुनः उम्मेदवारहरु शहिद दुर्गानन्द झाको शरणमा पुगेका छन् । कोही जटही स्थित शहिद झाको स्मृतिमा निर्माण गरिएको प्रवेशद्वार, कोही उहाँको लादो स्थित निर्मित पुर्णकदको शालिक त कोही शहिद झाको घरमै पुगेर उहाँकी धर्मपत्नीको आर्शिवाद लिँदै चुनावी प्रचार प्रसार तीव्र बनाई रहेका छन् ।

यद्यपि हरेक निर्वाचनमा उम्मेदवारहरु उहाँको नाउँमा स्थापित सो शहिदद्वार र स्मारकमा पुग्ने गरेको भएपनि त्यसको जीर्णोद्वार, संरक्षण र सौन्दर्यकरणको काम हुन नसकेकोमा स्थानियको दुःखेसो छ । विहिवार पनि त्यहाँ पुगेका हरेक उम्मेदवारले शहिद झालाई स्मरण गर्दै विभिन्न प्रतिवद्धता व्यक्त गरेको स्थानिय युवा नेता राजु चौधरीले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

शहिद झाको सम्मानमा दिर्घकालिन महत्वको काम र संरचना किन बन्न सकेन ? भन्ने प्रश्नमा दलका नेताहरु एकअर्कामा दोषारोपण गर्नुका साथै विभिन्न वाहानावाजी गर्ने गरेका छन् तर कोहि पनि गल्ती स्वीकार गर्न तयार छैनन् ।

कसैले आफुहरुले फलानो प्रक्रिया सुरु गरेको भएपनि बन्न नसकेको भन्दै जस लिन चाहिरहेका छन् भने कसैले अर्का माथी आरोप लगाएर त कसैले आफुले अवसर पाए यो गर्ने त्यो गर्ने, भनिरहेका छन् ।

अब हेर्न वाँकी छ, यस निर्वाचन पछि शहिद झाको सम्मानमा के कस्तो, कुन र कसरी काम हुन्छ या फेरि पनि उस्तै हुने हो । अन्त्यमा, शहीद दिवसको अवसरमा देश र जनताको हितका लागि शहादत दिनुभएका सम्पूर्ण महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।