एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ : धनुषाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला शान्ति तथा सदभाव समिति धनुषाको गठन भएको छ । जिल्लामा शान्ति र सदभावका लागि समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ प्रजिअ प्रेम प्रसाद लुइटेलको संयोजकत्वमा धनुषाका चारवटै सुरक्षा अंगका प्रमुख, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, राजनीतिक दलका जिल्ला अध्यक्ष, विभिन्न धर्मका अगुवाहरुको प्रतिनिधित्व रहने सो समितिलाई पालिका र वडासम्मै विस्तार गरिने पनि प्रजिअ लुइटेलले बताए ।
प्रजिअको कार्यकक्षमा भएको सर्वपक्षीय बैठकमा विभिन्न क्षेत्रका अगुवाहरुबाट आएको सुझावका आधारमा समितिको पालिका स्तरसम्मको संरचना गठन गरी समाजमा अचानक हुने असहज परिस्थिति र द्वन्द्व निरूपण तथा हुनै नदिनका लागि पनि समन्वय र सहजीकरणको काम गर्ने समितिको मुख्य जिम्मेवारी हुनेछ ।
नेपाल सरकार गृहमन्त्रालयको परिपत्र अनुसार देशको हरेक जिल्लामा समिति गठन गर्ने र सो समितिले आवश्यक संरचना विस्तार गरी उद्देश्य प्राप्तीका लागि सक्रियता देखाउने ध्येयका साथ समितिको गठन भएको प्रजिअ लुईटेलले बताए । सो अवसरमा युवा क्लबका अध्यक्षहरु, हिन्दु, मुस्लिम, इसाई सहितका धर्मका अगुवाहरुसहितको पनि उपस्थिति थियो ।





